पूर्व पश्चिम राजमार्ग जाम, तातियो बीरेन्द्रबजार !
स्थानीयवासीहरु अहिले 'नगर प्रमुख रामबाबू यादव मूर्दावाद !' को नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

२०७६ साउन ९ बिहीबार, दिउँसो १२:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बुधबार दुई बालकको खाल्डोमा डुबेर मृत्यू भएपछि परिवारजन तथा स्थानीयवासी आन्दोलित भएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ स्थित ग्राभेलको लागि खनेको खाल्टोमा डुबेर स्थानीय दुई बालकको मृत्यू भएपछि स्थानीयहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले मृतक परिवारलाई नगरपालिकाबाट क्षतिपूर्ती दिनुपर्ने, वार्ता समिति गठन गर्नुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखी पूर्व पश्चिम राजमार्ग ठप्प पारेका छन् ।
गणेशमान चारनाथ नगरपालिका वडा नं. २ बीरेन्दबजारमा स्थानीयहरुले राजमार्गमा ओर्लेर आन्दोलन गरिरहेका छन् । नगरपालिकाका नगर प्रमुख रामबाबू यादवको लापरवाही कारण स्थानीय सबिन लायोका दुई छोराको नजिकै पोखरीमा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घर देखि केही पर रहेको ग्राभेल उत्खनन गरेको खाल्टोमा अन्दाजी वर्ष १३ का आदित्य लायो र उनकै कान्छो भाई आकाश लायोको डुबेर मृत्यू भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

स्थानीयवासीहरु अहिले "नगर प्रमुख रामबाबू यादव मूर्दावाद !"को नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । आक्रोसित स्थानीयवासीहले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएपछि स्थानीय प्रहरीले उनीहरुलाई रोकेका छन् भने प्रदर्शनकारीहरुले मेयर नआएसम्म र जवाफ नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
उनीहरुले गणेशमान चारनाथ नगरपालिका वडा नं. १ बस्ने छलिमाया ल्याहोको दुई छोराको नगरपालिकाको जनप्रतिनीधिको लापरवाहीको कारण डुबेर मृत्यू भएकोले परिवारजनलाई उचीत क्षतिपूर्ति दिनुपर्ने, नगरपालिकाभरि जति पनि ठाउँमा ग्राभेल वा वालुवाको लागि खाल्टो खनिएको छ त्यो सबै व्यवस्थित गर्नुपर्ने, खाल्टो खन्ने र खन्न लगाउने व्यक्तिलाई कारवाही गर्नुपर्ने र यी कुराहरुको लागि एक वार्ता समिति गठन गर्नुपर्ने माग अघि सारिएको हो ।

बुधबार नै पोष्टमार्टमको लागि मृतक दुवै बालकलाई जनकपुर अञ्चल अस्पताल लगिएपनि अहिलेसम्म पोष्टमार्टम नगरेको तथा शव समेत परिवारजनलाई नदिएको आरोप लगाइएको छ । अस्पताल प्रशासनले शव नदिदा स्थानीयवासीहरु झन आक्रोसित बनेका हुन् । उनीहरुले बालकको शव माथि समेत राजनीति गर्न लागेको भन्दै राजमार्ग जाम गरेका छन् ।
यता, नगर प्रमुख नआएपछि नगर उपप्रमुख (उपमेयर) मीना कुमारी यादवले वार्ताको माध्यमबाट निकास दिनुपर्ने बताएकी छन् । प्रदर्शनकारीहरुलाई बाटो जाम नगरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दै वार्तामा आउन आव्हान गरेकी छन् । उनले भनिन, बाटो जाम गरेर तपाईहरु नै, तपाईहरुको आफन्त नै सास्ती पाउँछन् नी ? बाटो जामले गर्दा बेकसुर सर्वसाधारणलाई सास्ती हुन्छ, तसर्थ तपाईहरु वार्ताको माध्यमबाट निकास खोज्नुपर्छ ।
गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका छन् भने स्वास्थ्यमन्त्री अहिले समाजवादी पार्टीकै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव रहेका छन् भने प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री भने ज्ञानेन्द्र कुमार यादव रहेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…