राहत र ईन्जिनियर सहितको टोली लिएर 'मन्त्री पोखरेल' ग्राउण्ड जीरोमा
बाढी प्रभावितहरुको आंकडा तयार गरेर एकद्वार प्रणाली अपनाएर राहत विपतरण कार्यलाई व्यवस्थित बनाउनुपर्ने उनको कथन छ ।

२०७६ साउन ९ बिहीबार, बिहान १०:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेल खाद्यान्न राहत सामग्री सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
बुधबार गृह जिल्लाको विभिन्न स्थानका प्रभावित क्षेत्रहरुको निरीक्षण गर्दै बाढी पीडितका लागि राहत सामग्री र तत्कालिन नदी नियन्त्रणको समाधानको लागि जनता तटबन्ध र कमला सिंचाई आयोजनका ईन्जिनियर सहितको टोलीसंगै उनी रातु नदीले झण्डै ३ सय घरपरिवारलाई विस्थापित बनाएको लोहारपट्टी नगरपालिका ५ को दठौडा टोलको समेत निरीक्षण गरेका छन् ।
घरबार सहित विस्थापित बनाएका बाढी पीडित अहिले जयनगर बर्दिबास निर्माणधिन रेल्बे ट्रयाकमा त्रिपाल टांगेर कष्टपूर्ण जीवन व्यथित गरिरहेका छन् । विस्थापित हुने मध्ये १ सय ६२ घरपरिवार गरीब एवं अति विपन्न मुसहार समुदाय छन् । निरीक्षणको क्रममा मन्त्री पाखरेलले विस्थापितहरुको समस्याको विषयमा जानकारी लिनु भएको थियो भने तत्कालिन नदी नियन्त्रणका लागि ईन्जिनियरहरुसंग छलफल गरेका छन् ।
तत्काल नदी यिन्त्रण र भएका बस्ती पनि सुरक्षित बनाउन गर्न सकिने समस्या समाधानको उपाय अबलम्बन गरेर काम गर्न जनता तटबन्ध र कमला सिंचाई आयोजनका प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्री पोखरेलले विपदको यस्तो बेलामा बाढी पीडितको समस्यालाई सबैले मिलेर सामना गर्न आग्रह गरे।
संघीयताको अहिलेको अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले बाढी पीडितको दुःख कष्टलाई कम गर्न आफ्नो स्तरबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै बाढी प्रभावित स्थलहरुमा फोहार मैलाको समस्या समेत देखिएकाले महामारी हुन सक्ने भन्दै त्यसतर्फ पनि स्थानीय सरकार, स्वास्थ्यकर्मी, युवाहरुले ध्यान दिनुपर्ने र बाढी प्रभावितहरुको आंकडा तयार गरेर एकद्वार प्रणाली अपनाएर राहत विपतरण कार्यलाई व्यवस्थित बनाउनुपर्ने उनको कथन छ ।
‘यस्तो दुख कष्टको बेला आएर जन्तालाई हेरे जस्तो गर्ने, आएर उभिने, फोटो खिचाउने र समाजिक संजालमा फोटो हालेर बाढीपीडितको समस्या समाधान हुँदैन’ मन्त्री पोखरेलले भने ‘बाढीले कहाँ कहाँ बाँध भत्काएको छ, त्यसले कति असर पारेको छ, अहिलेको समाधान केहुन सक्छ, दीर्घकालिन समाधान के हुन सक्ने भन्ने विषयमा हामीले निरीक्षण गर्दैछौं । तत्कालको लागि केहि समाधान गर्न सक्ने विषयमा हामी फिल्डमै छलफल गर्दै छौं ।’
स्थानीय सरकार र प्रदेश सरकारलाई समेत आफ्नो स्तरबाट बाढी पीडितलाई सहयोग गर्न आग्रह गर्दै आफु संघीय सरकारमा भएको हैसियतले संघीय सरकारले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त मन्त्री पोखरेलले गरे । यस्तै मन्त्री पोखरेलले बाढी विस्थापित लोहारपट्टी नगरपालिका ५ को दठौडा टोल, भंगहा नगरपालिका १ को दोस्तीयाटोलका लागि वितरण गर्न प्रति परिवार ५ किलो चामल, ३ किलो च्युरा, एक किलो दाल, नुन, आलु, विस्कुट, चाउचाउसहितको पोका तयार गरी ईलका प्रहरी कार्यालय लोहारपट्टीलाई हस्तान्तरण समेत गरेका छन् ।
भंगहा नगरपालिका वडा नं. १ दोस्तियार टोलमा रातुखोलाले झण्डै ८ घरपरिवारलाई विस्थापित बनाएको छ । मन्त्री पोखरेलले दास्तिया टोलका बाढीपीडितलाई कविलासामा भेटघाट गरेका छन् भने भंगहा नगरपालिका वडा नं. २ का बाढी प्रभावित स्थल र वडा नं. ५ को सिद्धपुर स्थित बडहडी खोलाले गरेको कटानको निरीक्षण गरेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…