'पहाडमा भुईचालो जाँदा स्थायी विकल्पको व्यवस्था गरेझैँ मधेशको लागि पनि गरिनुपर्छ'
भारतीय बाँध र तटवन्धबारे भारतसँग गम्भीर ढंगले वार्ता गर्न समेत उनले केन्द्र सरकारलाई आग्रह गरे ।

२०७६ साउन ८ बुधबार, बेलुकी ७:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी डुबानको स्थायी समाधान खोज्नुपर्ने सरकारसँग माग राखेका छन् ।
प्रत्येक वर्ष मनसुनको समयमा आउने अविरल वर्षाका कारण तराईका अधिकांस क्षेत्र डुबानमा पर्ने भएकाले त्यसको स्थायी समाधान खोजिनुपर्ने नेता यादवले माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संघीय संसदको बिहीबारको बैठकमा प्रस्ताब गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताबलाई समर्थन गर्ने क्रममा राजपाका संयोजक यादवले यसको स्थायी समाधानका लागि सरकारलाई गम्भीर हुन आग्रह गरे ।
उनले भने, ‘यो कुनै अपरझट आउने या आएको विपद होईन । प्रत्येक वर्ष मनसुनको बेला हाम्रो नेपाली भूबनोटका कारण पहाडमा पहिरो र मधेशमा डुबान निश्चित जस्तै हुन्छ । यसका लागि जसरी तयारी गर्नुपर्ने थियो, त्यो गरिएन । हामीले समितिमा ध्यानाकर्षण गराएका थियौं, तर जुन संवेदनशीलताका साथ सरकारले तयारी गर्नुपर्ने थियो । त्यो हुन सकेन ।’
पहाडमा भुईचालो जाँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बनाएर स्थायी विकल्पको व्यवस्था गरेजस्तै मधेशमा पनि प्रत्येक वर्ष आउने बाढीका लागि बाढी पीडित प्राधिकरण बनाएर क्षति न्युनिकरण तथा जल उपयोगका लागि दीर्घकालिन वैज्ञानिक उपाय खोज्नुपर्ने माग उनले माग गरे ।
प्रस्ताबलाई समर्थन गर्दै यादवले बाढीपहिरोको कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र आश्रीत परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थयलाभको कामना गरे । उनले विपदमा परेका नेपाली जनतालाई उद्धार तथा राहतको तत्काल व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन् । उनले भने, ‘अहिले अविरल वर्षाका कारण तराई मधेश डुबान भएको छ । सबभन्दा पहिला अहिले जनताको पीडामा कसरी मलम लगाउन सकिन्छ । सकरकार संवेनशील भएर लाग्नुपर्छ ।’ नेता यादवले हामी जनप्रतिनिधिले पनि आफ्नो तर्फबाट भूमिका खेल्न तयार रहेको सदनलाई जानकारी गराए ।
सरकारले समयमै तयारी नगरेका कारण विपदका बेला के गरौं कसो गरौं भन्ने अवस्थामा आएको जिकिर गरे । उनले भने, ‘झारो टार्ने जसरी हामी काम गर्छौ । यसले हामी सही निश्कर्षमा पुग्न सक्दैनौं, यसलाई समग्रतामा सोच्नुपर्ने आवस्यकता छ । अहिलेको जस्तो अव्यवहारिक र अवैज्ञानिक सहरीकरण, अव्यवस्थित बसाई सराई, चुरेको दोहन, नदीबाट जथाभावी ढुंगा–बालुवा निकाल्ने काम भएका छन् । जसका कारण क्षति झन बढेको हो । सरकारले समय रहँदै यता ध्यान दिएको भए क्षति कम गर्न सकिन्थ्यो ।’
राजपा संयोजक यादवले यत्रो प्रचण्ड बहुमत भएको सकरारको त्यता ध्यान नै जाननसेको भन्दै गम्भीर हुन सुझाए । भारतीय बाँध र तटवन्धबारे भारतसँग गम्भीर ढंगले वार्ता गर्न समेत उनले केन्द्र सरकारलाई आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…