लोकसेवा विज्ञापन विरुद्ध TMNC को 'आरक्षण बचाऔं आन्दोलन' घोषणा, २ गते नेपाल बन्द
आन्दोलनमा आ–आफ्नो ठाउँबाट नेतृत्व लिन सबैमा अह्वान समेत गरिएको छ ।

२०७६ असार २६ बिहीबार, दिउँसो १:३२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो । लोकसेवा आयोगले गरेको संविधानको मर्म विपरीत र समावेशी विरुद्ध विज्ञापन रद्द गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।
तराई मधेश राष्ट्रिय परिषद (टिएमएनसी) ले लोकसेवा विज्ञापन विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । हालको स्थानीय तहको लोकसेवाको विज्ञापन संविधानको मूल मर्मको विपरीत र सीमान्तकृत जनजाति, मधेशी, दलित, मुश्लिम र पिछडिएको क्षेत्र र अपांगहरुप्रति अन्याय र विभेदको प्रतीक रहेको ठहर गर्दै आन्दोलनको घोषणा गरिएको हो ।
तराई मधेस राष्ट्रिय परिषद, आदिवासी जनजाति महासंघ, दलित महासंघ, आदिवासी जनजाति महिला महासंघ, अपांग महासंघ, पिछडिएका क्षेत्र, पार्टी निकट अदिवासी मोर्चा, कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, थारु कल्याणकारी सभा, थरुहट राष्ट्रिय भेला तयारी समिति एकताबद्ध भएर लोकसेवा विरुद्ध विशाल जनप्रदर्शन गर्ने भएको छ ।
घोषणा गरिएको आन्दोलनको कार्यक्रम अन्तर्गत यही असार २८ गते शनिबार प्रचारप्रसार र पर्चा वितरण कार्यक्रम राखिएको छ भने आईतबार असार २९ गते काठमाडौं लगायत देशभरिको विभिन्न जिल्लामा मशाल जुलुस प्रदर्शन गरिने भएको छ ।
यस्तै, असार ३० गते सिटि जुलुस र असार ३१ गते काठमाडौंको माईतिघर मण्डलासहित देशैभरि विशाल जनप्रदर्शन गर्ने भएको छ भने साउन २ गते नेपाल बन्दको घोषणा गरिएको छ ।
तराई मधेश राष्ट्रिय परिषद्का सदस्य काशिन्द्र यादवले जनाए अनुसार, आरक्षण बचाऔं आन्दोलनमा यसपछि लोकसेवा विरुद्ध अन्य विभिन्न विरोध तथा खबरदारीका कार्यक्रमहरु समेत सार्वजनिक गरिने जनाइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…