धनुषाको धारापानीमा विवाद उग्र, बजार पूर्णरुपमा ठप्प !
अहिले विवाद भएको स्थलमा धारापानी प्रहरीको टोली पुगेको छ भने विवाद थप उग्र नहोस भनेर सुरक्षा कडा पारेको छ ।

२०७६ असार १४ शनिबार, दिउँसो ४:४९ बजे२ मिनेट पढाइ
विनय कु. यादव, जनकपुरधाम । धनुषाको धारापानी स्थित रहेको एक विद्यालयको जग्गा विवाद हुँदा विवाद उग्र भएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानीको मूलाबारी भिमान स्थित रहेको मावि भिमानमा जग्गा विवाद चुलिंदा बजार बन्द गराईएको हो । मावि भिमान मुलाबारीलाई कैयौं वर्ष अघि दानको रुपमा प्रदान गरिएको करिब ६ कठ्ठा जग्गामा पुनः दाबी गर्दै खोस्न खोजेको भन्दै स्थानीयहरु विरोधमा उत्रेका छन् ।
मावि भिमानको चौतर्फी पर्खाल लगाइएको उक्त ६ कठ्ठा जग्गा धनुषाको बटेश्वर गाउँपालिकाकी पशुपति कुमारी लामाले आफ्नो पूर्खाहरुले जग्गा दिएको भन्दै जग्गा फिर्ता गर्न माग गरेपछि विवाद चुलिएको हो । यसअघि पनि कैयौं पटक लामा उक्त जग्गा उपर दाबी गर्दै जग्गा फिर्ताको कुरा चलाएकी थिइन् ।

यता, विद्यालय व्यवस्थापन समितिले समेत उक्त जग्गा गत वि.सं. २०३३ सालमा नै अहिले जग्गा दाबी गर्ने लामाकी हजुरवुवा (नाना) करण बहादुर साँगबोले भपाई गरेको प्रमाण पेश गरेका छन् । २०३३ साल ७ महिना १३ गते गरिएको उक्त भर्पाइमा लामाकी हजुरवुवा अर्थात नानाले ती जग्गा विद्यालयको नाममा दान गरेका हुन् ।
लक्ष्मीनारायण मण्डलले दान गरिएको जग्गा कुनै पनि हालातमा फिर्ता नदिने चेतावनी दिएका छन् । उनले हजारौ बालबालिकाको भविष्यसँग जोडिएको यी विद्यालय उपरको दादागिरी कसैलाई नचल्ने चेतावनी दिदै यसको लागि कानुनी उपचार समेत खोज्ने बताए ।
उनले भने,- "२०३३ सालमै ती जग्गा विद्यालयको हकमा दान गरिएको छ । अहिले आएर उनको आफन्तले पुनः फिर्ता मागे विद्यालयको हालात के होला र ? की त भौतिक संरचना निर्माण हुनु अघि नै दान गरिएको जग्गा फिर्ता लिएको भए सकिन्थ्यो नी ? अब करोडौ रुपैयाँ लगानी गरेर बनाइएको भौतिक संरचना र अमूल्य भविष्य गाँसिएको बालबालिकाहरुको धरोहरको एक टुक्रा पनि कसैलाई लैजान दिनौं ।"
भर्पाइमा दुई जना छेदोरजे लामा र विष बहादुर कार्कीको साक्षी समेतमा दान पत्र बनाइएको देखिएको छ । जग्गा लिन लामा धारापानी पुगेपछि स्थानीयहरुले विरोध जनाउँदै धारापानी बजार बन्द गराएका छन् भने राजमार्ग भने सुचारु छ । धारापानी बजार स्थित रहेको पसल, बजार पूर्ण रुपमा बन्द गराउँदै विरोध जनाएका हुन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…