प्रेस स्वतन्त्रताका लागि जनमत पार्टीको काठमाडौंमा प्रदर्शन, गडबड भए सिंहदरवार घेर्ने
डा. राउत पछिल्लो समय जनताको सरोकारगत विषयलाई प्राथमिकतामा राखेर निकै आक्रमक देखिएका छन् ।
२०७६ जेठ ७ मंगलबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले ल्याएको प्रेस स्वतन्त्रता विरोधी 'मिडिया काउन्सिल विधेयक' को विरोधमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौं पनि तताएका छन् ।
संघीय संसदमा प्रस्तुत गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएको भन्दै सोको विरुद्धमा जनमत पार्टीले काठमाडौंको माइतीघर मण्डेलामा जोडदार प्रदर्शन गरेका हुन् ।
पार्टीका नेता कार्यकर्ताहरुले हातमा ब्यानर र प्लेकार्ड लिएर सरकारविरुद्ध विभिन्न नारा चर्काउँदै सरकारलाई खबरदारी गरे । मिडिया काउन्सिल विधेयक खारेजी लगायत भ्रष्टाचार उन्मुलन, मानवअधिकार कायम, तनासाहिको अन्त्य जस्ता माग राखी प्रदर्शन गरे ।
नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप जनमत पार्टीका विद्यार्थी नेता विकास प्रसाद लोधले न्यूज ब्यूरोसँगको कुराकानीमा लगाए ।
सरकारले विधेयक नसच्याएसम्म जनमत पार्टीले विरोध कार्यक्रम जारी राख्ने जनमत पार्टीले जनाएको छ । एक नेताले भने, 'सरकारले विधेयक फिर्ता लिनुपर्यो, वा संसदमा यसलाई संशोधन गर्छौं भनेर रुलिङ पार्टीबाट आधिकारिकरुपमा आउनुपर्यो । हाम्रो मुख्य माग भनेकै यो विधेयक सच्चिनुपर्यो भन्ने हो । यदी यसतो भएन भने सिंहदरवार पनि घेर्छौं ।'
सरकारले तत्काल विधेयक फिर्ता लिई सरोकारवाला पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धि अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग गरेको जनमतका राजेन्द्र राई जनाए ।
यसअघि जनमत पार्टीले प्रदेश २ सरकारले समेत ल्याएको संचार विधेयकको विरोध गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत घेराउ गरेका थिए ।
नेपाल सरकारसँग ११ बुँदे राजनैतिक सम्झौता गरेर मूलधारको राजनीतिमा अवतरण गरेका डा. राउत पछिल्लो समय जनताको सरोकारगत विषयलाई प्राथमिकतामा राखेर निकै आक्रमक देखिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आभाष गुरु, काठमाडौं
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…