जनकनन्दिनी गाउँपालिकाकी महिला अब बेरोजगार बस्नुपर्दैन : उपप्रमुख कार्की
आफनै ठाउँमा यस्ता काम सँचालनमा ल्याए स्वरोजगार सृजना हुने उनले बताइन् ।

२०७६ जेठ ६ सोमबार, राति ९:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाकी उप-प्रमुख भारती कार्कीले गाउँपालिकाकी महिलाहरुले त्यतिकै बेरोजगार बस्नुपर्ने अवस्था नरहने बताएकी छन् ।
गाउँपालिकाको वडा नं. ४ खजुरी चन्हामा सोमबारदेखि सँचालन भएको महिलाहरुको लागि एक महिने ब्युटिसियन तालिम कार्यक्रमलाई उदघाटन गर्दै उप-प्रमुख कार्कीले सो कुरा बताएकी हुन् ।
उद्घाटन कार्यक्रम समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपप्रमुख कार्कीले स्थानीय स्तरमै बेरोजगार बसेकी महिलाहरुलाई आर्थिकोपार्जनको उदेश्यले तथा स्थानीय स्तरमै सीपमूलक कार्य गर्न सकोस भन्ने उदेश्यका साथ ब्युटिसियन तालिम सुरु गरिएको बताइन।
गाउँपालिकाकी महिलाहरुले ब्युटिसियन तालिमपछि आफ्नै गाउँठाउँमै काम गरेर परिवार सहित समाजसलाई समेत टेवा पुरयाउने उनले बताइन् । ब्युटिपार्लर सम्बन्धी कामको लागि यहाँका महिलाहरुले वैवाहिक कार्यक्रम वा अन्य कामको लागि भारतको जयनगर तर्फ जाने कार्यलाई रोक लगाउँदै आफनै ठाउँमा यस्ता काम सँचालनमा ल्याए स्वरोजगार सृजना हुने उनले बताइन् ।
धनुषाको जनकनन्दिनी गाउँपालिकाको वडा नं. ४ खजुरी टोलमा स्थानीय महिलाहरुको लागि एक महिने तालिमको विधिवत सुरुवात गरिएको हो । जनकनन्दिनी गाउँपालिकाको आर्थिक सहयोग एवम् समाजिक सँस्था मधेश सचेतना केन्द्र नेपालको सहकार्यमा गाउँपालिकाकी महिलाहरुको लागि एक महिने ब्युटिसियन तालिमको व्यवस्था गरिएको हो ।

समाजिक सँस्था मधेश सचेतना केन्द्र नेपालका अध्यक्ष धर्मेन्द्र कुमार शर्माको अध्यक्षता एवम् गाउँपालिकाकी उप-प्रमुख कार्कीकै प्रमुख आतिथ्यमा उक्त तालिमको एक कार्यक्रमबीच समुदघाटन गरिएको हो । आगामी असार ४ गतेसम्म चल्ने उक्त ब्युटिसियन तालिममा गाउँपालिका भरिको प्रत्येक वडाबाट ५/५ जना गरी जम्मा ३० जना महिलाहरुलाई सहभागी गराइएको सचेतना केन्द्रका अध्यक्ष धर्मेन्द्र शर्माले जानकारी दिए ।
शर्माका अनुसार प्रत्येक वडाका महिलाहरुमा दलित, गरिब, विपन्न, सीमान्तकृत समुदायकी महिलाहरुलाई सहभागीता गराइएको हो । उनीहरुको जीविकोपार्जनको लागि गाउँपालिकाबाट सुधार तर्फ ब्युटिसियन तालिमको व्यवस्था गरिएको उनले जनाए ।
सो कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झाले गाउँपालिकाकी सहभागी महिलाहरुले ब्युटिसियन सम्बन्धी तालिम लिएपछि बेरोजगार बस्नु नपर्ने तथा केही हदसम्म बेरोजगारी समेत न्यून हुने विश्वास जनाए । उनले भने ,- "पूर्ण रोजगारी नभएपनि स्थानीय स्तरमै वैवाहिक कार्यक्रम, पूजापाठ लगायत अन्य उत्सवको कार्यक्रमहरुमा बोर्डर पारी वा जनकपुर जानुपर्ने बाध्यता रहेको अवस्थामा यस तालिमपछि स्थानीय स्तरमै कार्य गरेर भएपनि घर खर्च, परिवार खर्च जोहो गर्न सकिनेछ ।"
तालिम पश्चात सहभागी महिलाहरुले सीप सिक्ने विश्वास जनाउँदै आगामी दिनमा गाउँपालिकालाई रोजगारीको आँकडा बढाउन सहयोग गर्ने बताए । सो उद्घाटन कार्यक्रममा सहभागीहरु सहित गाउँपालिकाका लेखापाल धर्मेन्द्र प्रसाद महतो सहित उच्च मावि खजुरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मण्डल, वडा नं. ६ का वडाध्यक्ष विक्रम यादव, मधेश सचेतना केन्द्र नेपालका प्रतिनीधि प्रकाश भगत, राजेश शर्मा सहित गाउँपालिकाका समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
उदघाटन कार्यक्रमलाई केन्द्रका सहजकर्ता गोविन्द ठाकुरले कार्यक्रम सँचालन गरेका थिए भने सो कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशष्टि अतिथि तथा सहभागीहरुलाई स्वागत गरेकी थिइन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…