धनुषा : आफ्नै घरबाट निस्केका रमेश खेतमा मृत भेटिए !
मृतक रमेशको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको

२०७६ जेठ ४ शनिबार, दिउँसो १२:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको शव विहानै खेतमा फेला परेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने रामनाथ उरावको बर्ष २४ का छोरा रमेश उरावको शव धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरको एक खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शुक्रबार बेलुकी करिब ८ः३० बजे आफ्नै घरबाट निस्केका रमेश अबेर रातीसम्म पनि नआउँदा उनको खोजविन सुरु गरिएको थियो । विहानसम्म खोजविन गरेपनि नभेटाएका उमेश अन्तत धनुषाको किसानपुर टोलको एक खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
मृतक रमेश को घाँटी र हातमा करेन्ट लागेको जस्तो देखिएपनि अहिले स्पष्ट भन्न नसकिने उनले बताए । उनलाई करेन्ट लागेर मृत्यू भएको हुन सक्ने बताउँदै उनको मृत्यू यथार्थमा कसरी भएको भन्ने बारे यकिन हुन नसकेको तथा पोष्टमार्टमको रिपोर्टपछि मात्र भन्न मिल्ने उनले जनाए ।
यता, रमेशका वुवाका अनुसार रमेश राती आफ्ना तीन साथी स्थानीय जँगली यादव, फेकू यादव र गुगली यादवसँगै बाहिर निस्केका थिए । रमेश चढेको साईकल घटनास्थलदेखि करिब २ सय ५० मिटरको दुरीमा रहेको पोखरीमा फेला परेको छ भने रमेशको शवलाई परालले छोपिएको अवस्थामा फेला परेपछि घटना शंकास्पद हुन पुगेको हो ।
किसानपुर बस्ने स्थानीय देव नारायण यादवको खेतमा रमेशको शव फेला परेको हो । स्थानीय किसानहरुले नील गाई धपाउनको लागि खेतको वरिपरी विजुली करेन्ट लगाउँदै आएका छन् । त्यही तारमा रमेशको करेन्ट लागेर मृत्यू भएको हुन सक्ने अनुमान गरिएपनि उनको शवलाई परालले छोपेपछि शंकास्पद भएको छ ।
मृतक रमेश को शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाउँदै यस घटनाबारे थप अनुसन्धान प्रक्रियागत भईरहेको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…