प्रदेश २ मा भोली (सोमबार) सार्वजनिक विदाको घोषणा
यस पर्वको गरिमाको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसारमा प्रदेश सरकार हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

२०७६ बैशाख २९ आइतबार, दिउँसो ४:१९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को ८ वटै जिल्लामा भोली सोमबार सार्वजनिक विदाको घोषणा गरिएको छ ।
मधेशको लागि उत्सवको रुपमा मनाइने जानकी नवमीको अवसर पारेर प्रदेश सरकारले एक दिनको लागि सार्वजनिक विदाको घोषणा गरेका हुन् । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतद्धारा जारी गरिएको शुभकामना सन्देशमा सोमबार प्रदेशभरि सार्वजनिक विदाको निर्णय समेत गरिएको उल्लेख गरिएको छ ।
प्रदेश नं. २ को अघोषित राजधानी जनकपुरमा सप्ताहव्यापी रुपमा प्रत्येक वर्ष मनाइने जानकी नवमीमा पनि केन्द्र सरकारले विदा कटौती गरेपनि प्रदेश सरकारले भने प्रादेशिक विदाको घोषणा गरेका हुन् । मुख्यमन्त्री लालबाबू राउतले जानकी नवमीको अवसरमा शुभकामना मनतत्व जाहेर गर्दै विदाको घोषणा समेत गरेका छन् ।
राउतको नीजि सचिवालयद्धारा जारी गरिएको शुभकामना वक्तत्वमा - "हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र माता जानकीको जन्मोत्सव अर्थात जानकी नवमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा सु स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । जानकी नवमीको अवसरमा सहभागी हुन जनकपुरधाम पाल्नु भएका सम्पूर्ण श्रद्धालु, भक्तजन, साधुसन्तहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नं. २ को गरिमालाई समेत विश्व स्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसारमा प्रदेश सरकार हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।" भनेर उल्लेख गरिएको छ ।
यसका साथै सार्वजनिक विदाको सन्दर्भमा शुभकामना पत्रमा जानकी नवमीलाई भव्यता प्रदान गर्दै हर्सोल्लास पूर्वक मनाउन प्रदेश सरकारले बैशाख ३० गते सार्वजनिक विदा समेत दिएको जानकारी गराउँदछौं भनेर उल्लेख गरिएको छ ।

यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…