मट्टितेल छर्केर जलाइएकी कञ्चनलाई प्रदेश सरकारको १ लाख, सहयोगको अपील !
आगोले कञ्चनकी शरीरको ८० प्रतिशत भाग जलेको छ ।

२०७६ बैशाख १३ शुक्रबार, दिउँसो ४:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिउँदै मट्टितेल छर्केर जलाइएकी सिरहाकी कञ्चन मण्डलको उपचारको लागि प्रदेश २ सरकारले १ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
आगोले शरीरकोे अधिकाँश भाग जलेर गम्भीर अवस्थामा रहेकी कञ्चनको उपचारमा कमी नहोस् भन्दै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले तत्काल १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
उनको उपचारको लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री यादवले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अस्पतालको शैयामा जीवन र मृत्यूबीच जुधिरहेकी कञ्चनकी माईती पक्षको आर्थिक अवस्था एकदमै कमजोर रहेका कारण उनको उपचारको लागि बाहिरबाट थप सहयोगको आवश्यकता छ ।
उनको उपचार अहिले काठमाडौंमा भइरहेको छ । यसअघि घटनालगत्तै उनलाई धरान पठाइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई काठमाडौं रिफर गरिएको हो ।
सिरहाको कल्याणपुर नगरपालिका–८ अरङकी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई बिहीवार विहान करिब ११ बजेको समयमा घरायसी विवादका कारण उनका पति र सासुले जिउँदै जलाएर हत्याको प्रयास गरेका थिए ।
आगोले कञ्चनकी शरीरको ८० प्रतिशत भाग जलेको छ । प्रहरीले कञ्चनकी सासुलाई नियन्त्रणमा लिएको छ भने उनको पति फरार रहेको सिरहा प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जनाए ।
घटना कसरी भएको हो भन्नेबारे अहिले यकिन हुन नसकेको र कञ्चनकी सासुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको श्रेष्ठले बताए ।
उनको उपचारको लागि सबैलाई सक्दो सहयोग गरिदिन अपील समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…