मधेशका यी मन्त्रीले आफ्नै छोरालाई दिए २४ करोड !
मेसिन खरिदको ७ लाख ५० हजार रुपैयाँ बाराको जनता मावि कचौरवाको कक्षाकोठा बनाउन रकमान्तर गरिएको छ।

२०७६ बैशाख ४ बुधबार, बिहान १०:५२ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का एक मन्त्रीले आफ्नै मेयर छोरालाई २४ करोडको बजेट दिएका छन् ।
शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो ।
सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको छ । हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार साह मन्त्री नवलकिशोरका जेठो छोरा हुन्। राष्ट्रिय जनता पार्टी (राजपा) बाट बाबुछोराले चुनाव जितेका हुन्। छोरा मेयर रहेको हनुमाननगर नगरपालिका मन्त्री साहको संसदीय क्षेत्र पनि हो।
जनकपुरमा कानुन महाविद्यालयको सम्भाव्यता अध्ययनका लागि मन्त्रालयले विनियोजन गरेको ५ लाख रुपैयाँमा ५ लाख थप गरेर १० लाख रुपैयाँ हनुमाननगरस्थित महासेठ पोखरीघाट निर्माण गर्न दिइएको छ।
शिक्षा आवासीय विद्यालयका लागि सम्भाव्यता अध्ययनको ५ लाख रुपैयाँमा ७० लाख रुपैयाँ थपेर ७५ लाख रुपैयाँ हनुमाननगरको योगिनियामा भगवती मन्दिरको पर्खाल र धर्मशाला बनाउन विनियोजन गरिएको छ। बालअधिकारसम्बन्धी कार्यक्रमको अनुगमन र निरीक्षणमा विनियोजन गरिएको ४ लाख ८० हजारमा थपेर २ करोड २५ लाख २२ हजार रुपैयाँ योगिनियामा सामुदायिक भवन बनाउन दिइएको छ।
प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी दल नेकपा र कांग्रेसले प्रदेश सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै बैठकमा अवरोध गरे। कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले सामाजिक विकासमन्त्रीले छोरा मेयर रहेको नगरपालिकामा २४ करोड रुपैयाँ रकमान्तरण गरेको भन्दै सरकारको जवाफ मागेका थिए।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…