आजदेखि पुनः एसईई परीक्षा सुरु, गार्ड र प्रहरीलाई पनि मोबाईल 'नो एन्ट्री'
परीक्षा रद्द भएपछि प्रदेशभरि नै विद्यार्थीहरुले आगो बालेका थिए भने सो क्रममा प्रदेशको विभिन्न जिल्लामा परीक्षार्थीहरुको आन्दोलनले तनावग्रस्त भएको थियो ।

२०७५ चैत २२ शुक्रबार, बिहान ७:४८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा चरणवद्ध रुपमा एसईईको प्रश्नपत्र आउट हुनथालेपछि स्थगित तथा रद्द गरिएको परीक्षाहरुको आजदेखि पुनः सँचालनमा आउने भएको छ ।
गत चैत्त १० गतेदेखि सुरु भएको एसईई परीक्षा अन्तर्गत अँग्रेजी र नेपाली तथा गणित विषयको परीक्षापछि अनिवार्य विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट आउट भएपछि विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो भने बाँकी सबै परीक्षा पनि स्थगित गरिएको थियो । शुक्रबार चैत्त २२ गतेदेखि पुनः परीक्षा सँचालनको मिति तय गरे अनुसार आजदेखि पुनः साबिककै समयमा परीक्षा सँचालन हुने भएको छ ।
पूर्व निर्णय र तालिका अनुसार आज शुक्रबार रद्द गरिएको अनिवार्य विज्ञान विषयको परीक्षा विहान ८ बजेदेखि सुचारु हुने भएको छ । सोमबार बसेको बोर्डको बैठकले चैत्र २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले बताए । चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिने निर्णय गरेको थियो ।
नयाँ तालिका अनुसार शनिबार चैत्त २३ गते सामाजिक , आईतबार चैत्त २४ गते स्वास्थ्य तथा जनसंख्या, सोमबार चैत्त २५ गते ऐच्छिक प्रथम, मँगलबार चैत्त २६ गते ऐच्छिक द्वितीय र बुधबार चैत्त २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।
आईतवारको भिषण हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए व्यवस्थापन मिलाउन जिल्ला परीक्षा समन्वय समितिलाई बोर्डले आग्रह पनि गरेको छ ।
यसका साथै परीक्षा पूर्ण रुपमा मर्यादित एवम् पछिल्लो घटनालाई मध्यनजर गर्दै आजदेखि पुनः सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाइएको छ। विहीबार जनकपुरमा बसेको प्रदेश २ को एसईई सञ्चालन समन्वय समिति बैठकले परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन यस्तो निर्णय गरेको हो।
प्रश्नपत्र रुजु गर्दा प्रश्नपत्र भण्डारण गरेको कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले मोबाइल सुरक्षाकर्मीको नियन्त्रणमा राखेर जानुपर्ने निर्णय गरेको छ। परिक्षाका बेला केन्द्राध्यक्ष बाहेक सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी सबैको मोबाइल अफ गरी खाममा राखेर केन्द्राध्यक्षले राख्ने छन्।
मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर सामाजिक सञ्जालमा राखिएकाले प्रदेश २ मा एसईई परिक्षा स्थगित गर्नु परेको थियो। विज्ञान र सामाजिक विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको बारे पनि बैठकमा समीक्षा भएको थियो।
समिति संयोजक प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको अध्यक्षतामा बसेको बैठकले विगतमा भन्दा सुरक्षा सतर्कता बढाउने, परीक्षामा खटिने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीलाई थप सजग हुन निर्देशन दिने निर्णय गरेको छ। सबै केन्द्रमा सुरक्षाकर्मीको उपस्थिति प्रभावकारी बनाउने, परीक्षार्थीको शरीर खानतलासी गर्ने, विद्यार्थीले परीक्षाकेन्द्रमा मोबाइल लगे तत्काल जफत गर्ने छ।
केही केन्द्रमा परिक्षा निरीक्षकले मर्यादा विपरित गतिविधि रोक्ने प्रयास नगरेको वा नसकेको देखिएकाले त्यस्ता गतिविधी रोक्न सक्ने शिक्षकलाई मात्र निरीक्षकको रुपमा नियुक्ति गर्न केन्द्राध्यक्षलाई निर्देशन दिएको छ।
केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीका रुपमा नियुक्त गरेका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानालगायत सबै विवरण तयार गरी परीक्षा अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न भनिएको छ।
केही केन्द्रमा परीक्षामा खट्ने व्यक्तिको परिचय पत्रमा फोटो नटाँसिएको, फोटोमा पर्ने गरी परिचय पत्र जारी गर्ने व्यक्तिको हस्ताक्षर नगरिएको पाइएकाले फोटोमा पर्ने गरी हस्ताक्षर गरीएको परिचय पत्र अनिवार्य लगाउन पनि बैठकले निर्देशन दिएको छ।
परीक्षा रद्द भएपछि प्रदेशभरि नै विद्यार्थीहरुले आगो बालेका थिए भने सो क्रममा प्रदेशको विभिन्न जिल्लामा परीक्षार्थीहरुको आन्दोलनले तनावग्रस्त भएको थियो । कैयौ परीक्षार्थी घाईते समेत भएका थिए ।
कृप्या यो Youtube च्यानल सब्सक्राईब गर्नुहोस् |
=================================
अन्नपूर्णको पनि सहयोगमा
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…