मधेशमा कृषि क्रान्तिको लागि जनकपुरमा 'पैचो' लञ्च
अहिले म्यूजियममै हुने थियो कोदो, तर पैचोले यसलाई बजारमा ल्याएको छ । यसबाट दुई समुदायबीचको सम्बन्धमा समेत थप प्रगाढता ल्याउने छ ।"

२०७५ चैत १६ शनिबार, दिउँसो ३:२० बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कृषिमा आधारित हाम्रो देशमा कृषि क्रान्तीको आवश्कता महसुस भईरहेको बेला नेपालकै एक समाजिक कम्पनीले यसलाई मूर्तरुप दिन लागेका छन् ।
ग्रामिण भेकमा गरिने कृषिजन्य वस्तुहरुको उत्पादन बजार नपाएपछि हैरान भएका किसानहरुको लागि समाजिक दूत बनेर आएका पैचो कम्पनीले किसानहरुबाट कृषि उत्पादनहरु खरिद बजारिकरण गर्ने भएको छ । शनिबार एक कार्यक्रमबीच कम्पनीले पैचोको उत्पादनहरुलाई प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा समेत लंच गरेका छन् ।
नेपालको विभिन्न भेकका ६० हजार किसानहरुलाई आफूसित जोडदै पैचोले उनीहरुको उत्पादनलाई समान्य बजारभन्दा अधिक मूल्य दिएर उत्पादनहरु खरिद गर्दै स्थानीय किसानहरुलाई समेत प्रोत्साहन गर्दै आएको छ । गाउँमा कृषि उपज उत्पादन गर्यो तर बेच्नलाई बजार छैन । बजारको अभावले धेरै किसानले खेती किसानी छाडिसकेका छन् । कृषि उपजले बजार नपाएको देखेर केही स्वदेश र विदेशका प्रोफेसनल्सलाई लाग्यो बजार स्थापना गर्नुपर्छ नभए हामी झन परनिर्भर हुन्छौ । पत्रकार सम्मेलनमा पैचो समूहले बताए ।

"समूह संगठित भएर पैचो पसल प्रालि तीन वर्षअघि सुरु गरेपछि धेरै किसानको आधार बनिसकेको छ । यो पसल अहिले पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका ६ जिल्लाका २० वटा पहाडी गाविसमा स्थापना भइसकेको छ ।" ५ वर्ष भित्र देशव्यापी सञ्जाल बनाइ खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको पसलका प्रबन्ध निर्देशक धुब्र न्यौपानेले बताए ।
किसानलाई चाहिने सामान दिने र उनीहरुले उत्पादन गरेको कृषि उपज किन्ने अबधारणा अनुसार संचालनमा ल्याएको जनाउँदै मधेशको स्वाद पहाडमा र पहाडको स्वाद मधेशमा चखाउने जीकिर गरे । उनले मधेशको कृषिजन्य उत्पादनहरुलाई प्रशोधन गर्दै पहाडमा चखाउने तथा पहाडी जिल्लाको कृषि उत्पादनबाट बनेका समानहरु मधेसलाई चखाउने बताए ।
गुल्मीलाई प्रमुख कार्यथलो सुरु भएको यो पसल अहिले अर्घाखाँची, पाल्पा, रुपन्देही, रुकुम, र रोल्पा सम्म फैलिएको छ । कम्पनीले आफ्नै तीन वटा गाडीमार्फत पहाडबाट कृषि उत्पादनहरु बुटवलमा ल्याएर केही उत्पादन सिधै र केही उत्पादनलाइ प्रसोधन गरी बिक्रि बितरण गर्दै आएको छ । मधेशको जनकपुरमा व्यापार विस्तार गर्दै प्रबन्ध निर्देशक न्यौपानेले शिघ्र नै मधेशको ग्रामिण भेकका किसानहरुलाई यसमा जोडने दाबी गरे ।
अहिलेसम्म ५०० बढी जनलाई रोजगारी दिएका यस कम्पनीले व्यापारिक मात्र नभएर समाजिक रुपले पनि काम गर्दै आएको बताएका छन् । जनकपुरको लागि पैचो पसलका अधिकृत विक्रेता दिपेन्द्र साहको अध्यक्षता एवम् प्रदेश नं. २ का उद्योग, वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पैचो कम्पनीको उत्पादनहरुबारे विस्तृत जानकारी सहित स्थानीय किसानसँग जोडिने प्रक्रियाहरुबारे प्रकाश पारिएको थियो ।
पैचो पसलले अचार, जुस, जाम, गुन्द्रुक, आँटा, मकैको पिठो, कोदोको पिठो, सिँकी, मस्यौरा, टोमाटौ कैचप, ससेज, चुक अमिलो, कागती अचार, अमला अचार लगायत सय बढी प्रकार उत्पादनहरु स्थानीय बजारसम्म पुरयाउने गरेको छ । बसे पनि शहर , गाउँकै खाने रहर मूल नाराका साथ कम्पनीले स्थानीय किसानलाई बलियो बनाउनको लागि पनि बारीमा फलाएको विशुद्ध अर्गानिक कृषि उत्पादनहरुलाई बजार दिने जनाएका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले पैचो कम्पनीलाई समाजिक कम्पनीको संज्ञा दिँदै कम्पनीको भिजन र कार्यप्रति प्रशंसा व्यक्त गरे । उनले भने, -"मधेशको स्वाद पहाडलाई र पहाडको स्वाद मधेशमा ल्याउने माध्यमको रुपमा उभिएको यो कम्पनी वास्तवमा प्रशंसाको लायक छ । सुरु सुरुमा आफूलाई आउन पनि झिझक लागिरहेको थियो तर जब कार्यक्रममा आएर यसको बारेमा सुने र बुझे वास्तवमा यो कम्पनीले स्थानीय किसानलाई प्रोत्साहन गर्नेछ र यो सराहनीय हुनेछ ।"
घरेलु तथ आन्तरिक लगानीको लागि आफूहरु सदैव खुला रहेको जनाउँदै उनले यस्ता कम्पनी, उद्योगहरु स्थापना गर्न चाहे प्रदेश सरकारले कर छुट, जग्गा उपलब्ध, विद्यतुको सहज पहुँच जस्ता कार्यहरु प्रदेश सरकारले नै गर्ने पनि सुझाए । उनले २० वर्षसम्म कुनै पनि उद्योेगलाई यस प्रदेशमा कर नलिने जनाउँदै अर्गानिक उत्पादनलाई बजारिकरण गर्ने पैचो पसलाई प्रशंसा गरे ।
पैचो पसलले केही हदसम्म बेरोजगारीको समस्यालाई हल गरेको जनाउँदै कोदोको पीठो यस कम्पनीले बजारमा ल्याएको भन्दै सुनमा सुगंध भएको बताए । उनले भने, -"यति प्रोडक्टहरुमध्ये कोदोको पीठो, जोकी अहिले मधेशको लागि विलय हुँदै गएको छ । अहिले म्यूजियममै हुने थियो कोदो, तर पैचोले यसलाई बजारमा ल्याएको छ । यसबाट दुई समुदायबीचको सम्बन्धमा समेत थप प्रगाढता ल्याउने छ ।"
सो कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहले पैचोको कारण स्थानीय स साना किसानहरुलाई अवसर प्रदान गर्ने जनाउँदै यो अवसरलाई किसानले पनि नगुमाउनुपर्ने बताए ।
पैचो पसल २०७१ भदौंमा दर्ता भएको हो । २०७३ भदौमै यो पसलले राष्ट्रपति युवा पुरस्कार २०७३ बाट सम्मानित भएको छ । युवालाई कृषि क्षेत्रमा ल्याएकोले पुरस्कार पाएको बताउँदै न्यौपानेले पुरस्कारबाट थप हौसला मिलेको बताए । उनका अनुसार गाउँलाई कार्य क्षेत्र बनाएर निरन्तर काम अघि बढ्नेछ ।
पैचो पसलले ६० हजार किसान लाभान्वित भएको कम्पनीको दाबी छ । कम्पनीले ६ वटा जिल्लाका किसानले उत्पादन गरेको कृषि उपज किन्ने र उनीहरुलाई आवश्यक सामानहरु दिइरहेको छ । न्यौपानेका अनुसार ती क्षेत्रमा रहेका ६० हजार किसानले प्रत्यक्ष रुपमा लाभ लिएको र अप्रत्यक्ष रुपमा लाभ लिनेको संख्या बढ्दो क्रममा रहेको छ ।
स्थानीय युवा मिलेर गाउँको उत्पादन बजारसम्म ल्याएर बिक्री गर्न सक्छन् । यो पसल स्थापनाका लागि पचास हजार रुपैयाँ भए पुग्छ । युवारयुवतीको समूह बनाएर पचास हजार रुपैयाँ जम्मा पारेपछि पसल स्थापना गरेर काम सुरु गर्न सकिन्छ । न्यौपानेका अनुसार समूहले खोलेको पसलमा पैचोले समेत सहयोग गर्छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…