'लुटन सके लुट'- जनकपुर अञ्चल अस्पतालका मेसु जसले लुटदैछ अस्पताल ?
आफु नियुक्त भएको एक वर्ष पनि नपुग्दै अस्पतालमा डोर हाजरीमा ४४ जना आफना आसेपासेलाई राखेको खुलेको छ ।

२०७५ चैत ११ सोमबार, बेलुकी ६:३८ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सुविधा सम्पन्न मानिएको जनकपुर अञ्चल अस्पताल जसमा पटक पटक कुनै न कुनै काण्ड भईरहन्छ ।
कहिले मेडिकल सुपरिटेन्डेन्टको दादागीरी त कहिले चिकित्सकको लापरवाहीले विरामीको मृत्यु जस्ता काण्डबाट दैनिकरुपमा बदनाम हुँदै आएको प्रदेश नम्बर २ कै सुविधा सम्पन्न सरकारी अस्पतालमा पर्ने जनकपुरधाम अञ्चल अस्पतालमा जुन जोगी आएनी कानै चिरेको भन्ने उखानलाई चरितार्थ बनाउँदै गएको छ । यसै सन्दर्भमा जनकपुरका पत्रकार दीपक कर्णको एक रिपोर्ट जुन यस प्रकार छन् ।
अस्पताललाई भ्रष्टाचारमा चुर्लम्म डुबाएर चर्चित बनेका पुर्व मेसु रामपरिक्षण यादवले अबकास पाएपछि नया मेसुको रुपमा आएका डाक्टर नागेन्द्र यादवले समेत जनकपुरधाम अंचल अस्प्तालमा आफु रजाई गर्दै आएको खुलेको छ । मेसु यादवले आफनो पावरलाई प्रयोग गर्दै आफु नियुक्त भएको एक वर्ष पनि नपुग्दै अस्पतालमा डोर हाजरीमा ४४ जना आफना आसेपासेलाई राखेको खुलेको छ ।
मेसु यादवले डोर हाजरी अर्थात दैनिक ज्यालादारीमा ८ जना मेडिकल अधिकृत,२० जना स्टाफ नर्स,७ जना कार्यालय साहायक,२ जना कम्प्युटर अपरेटर,७ जना स्विपर र एक जना माइक्रोवायोलोजीस्टलाई नियुक्त गरेका छन । सहि छाप गरेर पैसा थुत्दै आएको भनि आरोप लागेका डोर हाजरीमा नियुक्त भएका मेडीकल अधिकृतले ३४ हजार २ सय २०,स्टाफ नर्सले २३ हजार ५ सय,कार्यालय सहायकले १६ हजार २ सय ३०,कम्प्युटर अपरेटरले १७ हजार २ सय पचास ,स्विपरले १३ हजार ५ सय र माइक्रोवायोलोजिस्टले ३० हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति तलवको रुपमा उठाउँदै आएका छन ।
जस अन्तर्गत ९ लाख ४६ हजार ५ सय ५० रुपैयाँ बालुवामा पानी मिसाए जस्तै विना काम गरि सहि छापको सहारामा अस्पतालबाट वुझदै आएका छन । जबकि जनकपुरधाम अंचल अस्पताल विकास समितिबाट १ सय २४ कर्मचारी नियुक्ती भएको देखिएको छ भने नेपाल सरकार करार अन्तर्गत २२ जना कर्मचारी नियुक्ती गरिएको छ ।
त्यसैगरि सरकारी दरवन्दीमा अहिले ८९ जना कर्मचारी कार्यरत रहेको अञ्चल अस्पतालको तथ्यांकले देखाएको छ । सबै कर्मचारी मिलाएर अस्पतालले मासिक करिव ८० लाख रुपैयाँ तलब मात्र बाँडदै आएको अस्पतालका लेखा अधिकृत रामविनय यादवले बताए ।
गाडी ३ वटा, इन्धन लाखौंको
जनकपुर अञ्चल अस्पतालमा दुईवटा एम्बुलेन्स र एउटा मेसुले चढ्ने गाडीको इन्धनमा यस आर्थिक बर्षको ७ महिनामा मात्रै १० लाख ३१ हजार ५ सय १२ रुपैयाँ खर्च गरिएको देखिएको छ । यसबाहेक मेसुका आसेपासेका केहि कर्मचारीहरुले समेत मासिक १० लिटर इन्धन अस्पतालबाट लिदैं आएका छन ।
जनकपुर अञ्चल अस्पतालको ओपिडी बिभागमा विरामीहरुको बेडमा ओछ्याईने बेडसिट र पर्दाहरुको धुलाईमा समेत मासिक ५० हजारको फर्जि बिलहरु लेखा अधिकृतको टेबलसम्म पुग्ने गरेको छ । आफुले यस सम्बन्धमा खोजविन गर्दा अहिलेसम्म कुनै तथ्यपरक प्रमाण पाउन नसकेको लेखा अधिकृत यादव बताउँछन ।
विरामीहरुको खानाको लाखौं रकम पानामै
जनकपुर अञ्चल अस्पतालमा यस आर्थिक बर्षको फागुन महिनासम्ममा विरामीहरुलाई दुई छाक खाना खुवाएवापत १० लाख रुपैयाँ खर्च भएको रेकर्ड देखाईएको छ । जबकी हामीले विरामीहरुसँग सोध्दा उनीहरुले हामीलाई अस्पतालले खाना नदिएको गुनासो सुनासो छ ।
यता रेकर्ड हेर्ने हो भने श्रावण महिनामा २ हजार ७ सय ४६ छाक खाना वापत १ लाख ३७ हजार ३ सय,भदौमा २ हजार ३ सय ९७ छाक खाना वापत १ लाख १९ हजार ८ सय ५०,असोज महिनामा २ हजार ९ सय १७ छाक खानामा १ लाख ४५ हजार ८ सय ५०,कार्तिक महिनामा २ हजार २ सय ४७ छाक खाना वापत १ लाख १२ हजार ३ सय ५० र मंसिरमा ३ हजार ४ छाक खाना वापत १ लाख ५० हजार २ सय रुपैयाँ खाना खर्चमा अस्पतालले निकासी गरेको देखिएको छ ।
ड्युटी समयमा ओपिडीका डाक्टरहरु क्लिनीकमा
अस्पतालमा आउने विरामीहरुका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न विभागका चिकित्सकहरुलाई खटाईएपनि उनीहरु १२ बजेपछि अस्पतालमा विरामी जाँच्न छोडेर खाना खाने नाममा एकैपटक आ आफनो निजी क्लिनीकमा धाउने गरेको देखिएको छ ।
सोमबार दिउँसो डेढ बजे हामी अस्पतालको ओपिडी विभागमा पुग्दा त्यहाँ विरामीहरु लाम लागेको देखिएपनि चिकित्सकहरु अनुपस्थित थिए । यस सम्बन्धमा चिकित्सकहरु विरामी जाँच्न छाडेर कहाँ गए भनेर कार्यालय सहयोगीलाई सोध्दा चिकित्सकहरुको खाना खाने समय रहेकोले उनीहरु खाना खान गएको प्रतिक्रिया दिए ।
यता विरामीहरुले आफुहरु डेढ घण्टासम्म कुरेर बस्दापनि जाँच नगरिएको र चिकित्सकहरु अस्पतालमा रहेका विरामीहरुलाई कुनै वास्ता नै नगरि आफनो नीजि क्लिनीक तर्फ गएको दुःखेसो सुनाएका थिए ।
लेखा अधिकृतको आफनै पीडा
जनकपुर अञ्चल अस्पतालका लेखा अधिकृत रामविनय यादवले आफुले अस्पतालको आर्थिक गतिवीधिलाई पारदर्शी राख्न व्यवस्थित तरिकाले काम गर्न चाहेकोले केही कर्मचारीहरु आफुविरुद्ध जाईलागेको दुःखेसो सुनाएका छन ।
उनले अञ्चल अस्पताल भित्र सेक्युरिटी गार्ड,विद्युत सामग्री खरिद,छपाई,स्टेशनरी,सरसफाइ सामग्री,खानेपानी सामग्री,विरामीको खाद्यान्न लगायतको शीर्षकमा कोटेशन माग गर्दा आफुहरुको पोल खुल्ने डरले केही विरोधी तत्वहरुले आफुविरुद्ध सञ्चारमाध्यमहरुमा नकारात्मक अफवाह फैलाएको जिकिर गरेका छन ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…