जनकपुरबाट २० लाखको सुनचाँदी सहित दुई जना पक्राउ
प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

२०७५ फागुन २७ सोमबार, बिहान १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरबाट दुई जनलाई करिब २० लाखको महँगो धातु अबैद्य सुनचाँदी सहित पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार विहानै पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई भारतीय नागरिकलाई सार्वजनिक गरेका छन् । पक्राउ पर्नेहरुमा भारतको विहार राज्य मधुवनीको बासोपट्टी वडा नं. ४ का ३७ वर्षिय कृष्ण कुमार महतो सुडी र सोही ठाउँका ३० वर्षिय रुपेश महतो रहेका छन् ।
आईतवार साँझ जनकपुरधाम उपमहानगरपालिका १५ कुवाबाट सुडी र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । विआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलबाट सुनको बाला २ थान गोलो टुक्रा २ थान गरी १ सय ग्राम र चाँदीको दाना ९ प्याकेट २५ किलोग्राम बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी शेखर खनालले बताए ।
बरामद सुन ५ लाख २४ हजार ७ सय, चाँदी १६ लाख १८ हजार २५० र मोटरसाइकल ७० हजार बराबरको रहेको उनले जानकारी दिए । उक्त भारतीय नम्बरको पल्सर मोटरसाइकल चढी उनीहरु जनकपुर हुँदै भारततर्फ जान लागेका थिए ।
प्रहरीले विशेष सूचनाको आधारमा गाडी रोकेर चेक गर्दा ट्यांकी भित्रमा सेतो रंगको प्लाष्टिकमा बेरेर राखेको अवस्थामा सुनचाँदी बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…