मिथिला नगरपालिका उपर लगाईएको भत्ताको आरोप निराधार र भ्रामक
तथ्यहिन र भ्रामक समाचार सम्प्रेषण गरेको प्रति आपत्ति जनाउँदै समाचारको खण्डन समेत गरिएको छ ।

२०७५ फागुन २० सोमबार, बिहान ९:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला नगरपालिका उपर लगाइएको दैनिक भत्ता रु. १५००० सम्मको समाचार उपर ध्यानाकर्षण गर्दै नगरपालिकाले समाचारलाई अपुष्ट, तथ्यहिन र निराधार रहेको बताएको छ ।
आईतबार केही सँचारमाध्यमहरुमा स्थानीय जनप्रतिनीधिको भत्ता दैनिक १५००० सम्म लिने गरेको समाचारप्रति ध्यानाकर्षण गर्दे मिथिला नगरपालिकाले स्थानीय जनप्रतिनीधिहरु कार्यक्रमको अनुगमन वापत कुनै पनि अनुगमनमा प्रति कार्यक्रम रु. १५००० रुपैयाँ भत्ता नलिएको प्रष्टाएका छन् ।
समाचारमा उल्लेख भएबमोजिम मिति २०७५ साल बैशाख ६ र ७ गते राष्ट्रिय "भिटामिन ए कार्यक्रम" मा नगरका मेयर, उपमेयर लगायत कुनै पनि जनप्रतिनीधिहरुले भत्ता रकम लिने गरी अनुगमन नगरेको र सो सम्बन्धमा कुनै पनि भुक्तानी नभएको प्रष्टाइएको छ ।
नगरपालिकाको प्रवक्ता दिपकजँग थापा एवम् नगरका मेयर हरिनारायण महतोले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त मितिमा नगरपालिका क्षेत्र भित्र कार्यरत ५२ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई भिटामिन ए कार्यक्रममा नगरपालिकाबाट दैनिक रु. ४०० का दरले जनही रु. ४१,७०० रुपैयाँ भुक्तानी भएको स्पष्टोक्ति दिइएको हो ।
विज्ञप्तिमा -
"सो सम्बन्धमा महालेखा परीक्षकको कार्यालय, लेखापरीक्षण डोरमुकाम जनकपुर, धनुषाले मिति २०७५ साल ११ महिना १० गते मा यस कार्यालयलाई उपलब्ध गराएको लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा सो सम्बन्धमा दफा ४१ मा कार्यालयले यो वर्ष बैशाख ६ र ७ गत भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रमको १० जना पदाधिकारीहरुलाई अनुगमन गरेको जनाई रु. ३०००० भुक्तानी गरेको छ भनेर उल्लेख छ । जसमा जनाई भन्ने शब्दलाई हत्तारमा पढी जनही दिनको १५०० सम्म हुन आउने रकमलाई १५००० भनि उल्लेख गरिएको प्रष्टाइएको हो ।"
यसका साथै, वडा कार्यालय सँचालन तथा प्रशासनिक खर्च रकम बील भपाई पेश भएपछि वडा सचिव मार्फत, विविध खर्च र कार्यालयमा रहेको ५ वटा टयाक्टर, १ वटा ब्याक हु लोडर, २ वटा जीप, पिकअप र मोटरसाईकलमा प्रयोग भएको सवारी ईन्धनको बील भपाई राखी रकम भुक्तानी भएको जनाउँदै सो समाचारको सम्बन्धमा समाचारसँग सम्बन्धित जनप्रतिनीधि सरोकारबालाहरुलाई सम्पर्क नै नगरी आफूखुसी तथा मानमर्दन हुने गरी, तथ्यहिन र भ्रामक समाचार सम्प्रेषण गरेको प्रति आपत्ति जनाउँदै समाचारको खण्डन समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…