अब मधेशको प्रत्येक पालिकामा प्राविधिक शिक्षालय : मुख्यमन्त्री राउत
प्राविधिक शिक्षा सम्बन्धि ऐन हामीले तयार गरि सकेका छौ, एक साता भित्र प्रदेश सभामा जान्छ ।

२०७५ माघ २३ बुधबार, दिउँसो ४:५७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २३ माघ । मधेशका मुख्यमन्त्री लालबाबु राउतले अगामी आर्थिक वर्ष भित्र प्रत्येक पालिकामा एक एक प्राविधिक शिक्षालयको स्थापना गरिने बताएका छन् ।
प्याब्सन प्रदेश अधिवेशनको आज वर्दिबासमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाईनै प्राविधिक शिक्षाको हव बनाउने योजना अनुरुप प्रत्येक पालिकामा एक एक प्राविधिक शिक्षालय स्थापना गरिने उल्लेख गरे । उच्च शिक्षा प्रदेश सरकारको मातहत हुने स्पष्ट व्यवस्था रहेपनि संघीय सरकारले सिटीईभिटीलाई प्रदेशलाई हस्तान्तरण गर्न आनाकानी गरि रहेको गुनासो उनले भने ,‘ संविधानले प्रदत गरेको अधिकार प्रयोग गर्न हामीलाई कसैले रोक्न सक्दैन । प्राविधिक शिक्षा सम्बन्धि ऐन हामीले तयार गरि सकेका छौ, एक साता भित्र प्रदेश सभामा जान्छ ।’
ऐन पारित भए लगतै प्राविधिक शिक्षालय स्थापनाको क्रम शुरु हुने उहाँको कथन थियो । सम्बन्धित निकायको अस्पष्ट नीतिकै कारण मुलुकले शिक्षा लगायतको क्षेत्रमा प्रगति गर्न नसकेको उल्लेख गर्दै उनले प्रदेश सरकार अब त्यस्तो हुन दिने जीकिर गरे ।
संस्थागत विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले नयाँ नीति संस्थागत विद्यालयलाई धाराशायी गर्ने नभई व्यवस्थित गर्ने खालको हुनु पर्ने बताए।
प्याब्सन प्रदेश २का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शारदा थापा, प्याब्सनका केन्द्रिय अध्यक्ष विजय सुम्वाहाम्फे , केन्द्रिय पदाधिकारीहरु, नेपाली सेना तथा सशस्त्र प्रहरीका प्रदेश स्थित प्रमुख लगायतको उपस्थिति रहेको थियो । प्रदेश अधिवेशनले अगामी २ वर्षे कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्ने छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…