'मधेशकी बेटी' पढेर अब बेरोजगार बस्नुपर्दैन : मुख्यमन्त्री राउत
प्रदेश सरकारले भर्खरै पास गरेको प्रहरी ऐन तथा नीजामती ऐनले महिलालाई ५० प्रतिशत आरक्षण व्यवस्था गरेको ।

२०७५ माघ २३ बुधबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

सिरहा, २३ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशकी बेटी अब पढेर बेरोजगार बस्नु नपर्ने बताएका छन् । सिरहको गोलबजारमा मंगलबार आयोजित तामाङ्ग जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछारको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रम समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
उनले प्रदेश सरकारले भर्खरै पास गरेको प्रहरी ऐन तथा नीजामती ऐनले महिलालाई ५० प्रतिशत आरक्षण व्यवस्था गरेको बताए । महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेपछि मधेशमा विकराल देखिएको बेरोजगारीको समस्या केही हदसम्म समाधान दावी गरे ।
मुख्यमन्त्री राउतले सँघीय सरकारले कुनै चाडपर्वमा हप्तौ दिन विदा दिने र कुनैमा विदा नै नदिएर संघिय सरकारले आफ्नै देशका फरक संस्कृतिका जनतालाई अपमान गरेको आरोप समेत लगाए । उनले कुनै जाति, धर्म वा सांस्कृतिक पर्वमा १ दिन विदा दिदा विकास निर्माणमा कुनै बाधा नपुग्ने बताए । उनले कुनै समुदायको संस्कृति तथा पर्वमा विभेद गर्न नहुने तर्क गरे ।
प्रदेशमा सबैभन्दा धेरै दलित रहेको भन्दै यहाँका दलित विद्यार्थीको लागि आवास र खानेपानीको व्यवस्थासहितको उच्च शिक्षा निःशुल्क गर्न लागेको पनि बताए । उनले दलित शसक्तिकरण विधेयक सदनमा छलफलमा रहेको र चाँडै पास हुने बताए ।
उद्घाटन समारोहमा संघिय सासद लिलानाथ श्रेष्ठ, पुर्व मन्त्री विश्वनाथ साह र प्रदेश सासंदहरुको उपस्थिति रहेको थियो । तीन दिनसम्म चल्ने साँस्कृतिक कार्यक्रममा मनोज गजुरेल, बुद्ध लामा, राजेश पायल राई, सन्तोष लामा लगायतका कलाकारहरुले गित तथा नृत्य पस्किने आयोजक समितिका अध्यक्ष नविन लामाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…