मधेशकै नमुना : कल्याणपुरमा १ करोड बढीको लागतमा 'दुर्गा मन्दिर' को पुनःनिर्माण हुँदै
निर्माण हुन लागेको दुर्गा भवानीको उक्त मन्दिर नमुना, मनमोहक र आकर्षक बनाइनेछ ।

२०७५ माघ १६ बुधबार, बेलुकी ६:२७ बजे३ मिनेट पढाइ
बिनय यादव, सिरहा, १६ माघ । सिरहाको कल्याणपुरमा विशाल दुर्गा मन्दिर बन्ने भएको छ । कल्याणपुर नगरपालिका–११ बजारमा अवस्थित दुर्गा मन्दिरको पुरानो भवनलाई भत्काएर नयाँ पुनःनिर्माण गर्न लागिएको हो ।
सिरहाकै एकमात्र बढी दर्शनार्थी ओर्लिने कल्याणपुरस्थित रहेको दुर्गा मन्दिरको पुरानो भवन जीर्ण भएपछि नयाँ भवन बनाउन लागिएको छ । करिव ६ दशक अघि निर्माण गरिएको दुर्गा मन्दिरको पुरानो भवनलाई भत्काएर प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १ करोड बढीको लागतमा मन्दिरको नयाँ भवन निर्माण हुन लागेको हो । मन्दिर निर्माणका लागि मन्त्रालयबाट १ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ भने नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ ।
सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले निर्माण हुन लागेको मन्दिरको उक्त नयाँ भवनको संयुक्त रुपमा आज (बुधवार) एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
सांसद यादव र राज्यमन्त्री मण्डलद्धारा शिलान्यास गरिएको मन्दिरको नयाँ भवन एकवर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको राजपाका स्थानीय नेता किशोरी यादवले जानकारी दिए । ‘चलु कल्याणपुर, देखु कल्याणपुर’ को लक्ष्यसहित भारी लागतमा निर्माण हुन लागेको दुर्गा भवानीको उक्त मन्दिर नमुना, मनमोहक र आकर्षक बनाइनेछ ।
आधुनिकतासँगै युवा पुस्तामा लोप हुँदै गएको पौराणिक तथा धार्मिक मान्यता र संस्कृतिलाई जोगाउन आग्रह ।
शिल्यान्यास समारोहलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथिका रुपमा समेत रहेका सांसद राजकिशोर यादवले आधुनिकतासँगै युवा पुस्तामा लोप हुँदै गएको पौराणिक तथा धार्मिक मान्यता र संस्कृतिलाई जोगाउन आग्रह गरे । उनले संस्कार बिना सुन्दर समाज निर्माणको परिकल्पणा असम्भव भएको बताए ।
सोही क्रममा उनले आफू सदैव जनतामा नै समर्पित रहेको भन्दै खुलेर आफ्ना कुरा साझा गर्न सबैलाई अनुरोध गरे । उनले निर्धक्क साथ खुलेर अघि बढे मात्र विभेद विरुद्धको लडाईमा विजयी प्राप्त हुने जिकिर गरे । उनले मिर्चैया–सिरहा जोड्ने सडकको पुनःनिर्माणको काम चाँडै थालिने समेत खुलाए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…