धनुषाकै ढल्केवरमा खुल्यो रेयूकाईको ठुलो आँखा अस्पताल, नगरवासीलाई फ्रि मा उपचार
विहान ९ बजे देखि बेलुका ४ बजेसम्म आँखा सम्बन्धीत रोगीहरुले सेवा लिन सक्ने अस्पताल स्रोतले जनाएको छ ।
२०७५ माघ ९ बुधबार, राति ८:१६ बजे३ मिनेट पढाइ

धनुषा, ८ माघ । बनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले धनुषाको ढल्केवरमा आफ्नो शाखा विस्तार गर्न लागेका छन् ।
ढल्केवरका स्थानिय समाजसेवी राजाराम महतो र राजकिशोर महतोले दान गरेको ६ कठ्ठा जग्गामा भवन निर्माण गरेर अस्पतालले आफ्नो शाखा विस्तार गर्न लागेका हुन् ।
सोमवार रेयुकाई एइको मसुनागा आँखा अस्पतालका अध्यक्ष मधु आचार्यको अध्यक्षता तथा डोली इन्टर्मड ईन्टरनेशनल न्यूयोर्कका अध्यक्ष स्कट र्यामिलटनको प्रमुख आतिथ्यमा एक समारोहका वीच अस्पतालको ढल्केवर शाखा भवनको शिलान्यास र आँखा उपचार केन्द्रको उदघाटन गरिएको छ । प्रमुख आतिथी र्यामिलटनले अस्पतालको ढल्केवर शाखा भवनको शिलान्यास र आँखा उपचार केन्द्रको उदघाटन गरेका हुन् ।
अस्पतालले सञ्चालनमा ल्याएको आँखा उपचार केन्द्रमा आँखा सम्बन्धी समस्या भएका रोगीहरुले मंगलवार देखि सेवा लिन सक्ने जनाइएको छ । उपचार केन्दमा आईतवार बाहेक हप्ताको प्रत्येक दिन विहान ९ बजे देखि बेलुका ४ बजेसम्म आँखा सम्बन्धीत रोगीहरुले सेवा लिन सक्ने अस्पताल स्रोतले जनाएको छ ।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष मधु आचार्यले ढल्केवरमा तत्कालै संचालनमा ल्याएको आँखा उपचार केन्द्रमा मोतियाविन्द लगायत आँखा सम्बन्धी कुनै पनि शल्यक्रिया सम्भव नरहेकोले बनेपा लगेर मोतिया विन्दको निःशुल्क शल्यक्रिया गर्ने बताए ।
उनले अस्पताल निर्माणका लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट ठोस सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । स्थानीय समाजसेवी राजाराम महतो र राजकिशोर महतोले उपलब्ध गराएको ६ कठ्ठा जग्गामा सुविधा सम्पन्न आँखा अस्पताल निर्माण गरिने अध्यक्ष आर्चायले बताए । उनले एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण हुन लागेको आँखा अस्पतालमा नेत्र विशेषज्ञ टोली रहने र आँखाका सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने जनाए ।
आँखा अस्पतालका लागि जग्गा दान गर्ने समाजसेवी राजाराम महतो र राजकिशोर महतो दुवै दाजुभाई हुन् । अस्पतालले दुवै दाजुभाइलाई सम्मान पत्र सहित सम्मान गरेका छन् । यस्तै, आँखा अस्पतालको शाखा विस्तारकै लागि मिथिला नगरपालिका मातहत वडा नम्वर ७ गैरी टोलमा रहेको ५ विगाहा जग्गा मध्ये उत्तरतर्फबाट १ विगाहा जग्गा रेयुकाई एइको मसुनागा आँखा अस्पताललाई उपलब्ध गराएको छ ।
यता, कार्यक्रममा बोल्दै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले नगरपालिका भित्रका मोतियाविन्द रोगीलाई निःशुल्क शल्यक्रिया गराउने बताएका छन् । उनले रेयुकाई आँखा अस्पतालसंग सहकार्य गरेर नगरपालिका भित्रका मोतियाविन्द रोगीलाई निःशुल्क शल्यक्रिया गराउने बताएका हुन् ।
वनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले नगरपालिका भित्रका मोतियाविन्द रोगीलाई निशुल्क शल्यक्रिया गर्छ र निशुल्क बस्ने व्यवस्था मिलाउँछ, मेयर महतोले भने -"बनेपासम्म जाने आउने यातायात खर्च नगरपालिकाले उपलब्ध गराउँछ ।"
उनले मोतियाविन्दको शल्यक्रियाका लागि बनेपासम्म जाने आउने यातायात खर्च बापत जनही १५ सय रुपैया नगरपालिकाले उपलब्ध गराउने बताए । कार्यपालिकाको निर्णय अनुसार नै १ विगाह जग्गा आखा अस्पताललाई उपलब्ध गराएको छु,"- मेयरले भने ।
यस्तै, रेयुकाई एइको मसुनागा आँखा अस्पतालका सल्लाहकार डा. शसांक कोईरालाले ढल्केवर आँखा उपचारको हब बन्ने बताए । ‘नेपालमा आँखा अस्पताल थुप्रै छन् तर पनि समस्या बाँकी नै छ कोइरालाले भने, यहाँ बन्ने अस्पतालमा नेपालीलाई मात्र नभएर भारतीय नागरिकलाई पनि सुविधा पुग्छ’ । अस्पताल खोल्नु ठुलो कुरा होईन, अस्पताललाई व्यवस्थित पारेर सेवा दिनु नै महानता हो, उनले थपे ।
कार्यक्रममा मिथिला नगरपालिकाका उपप्रमुख तारा कुमारी बस्नेत, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, अष्ट्रेलियन राजदुत पिटर बर्ड, अस्पताल परियोजनाका कल्याण सिलवाल, असारे श्रेष्ठ, विभूति चनु ठाकुरलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…