ठग नेतालाई पहिचान गर्नुहोस्, मधेश चाँडै समृद्ध हुन्छ : कानुनमन्त्री यादव
मधेशलाई मधेशी नेता नै ठग्दै आएको ।

२०७५ पुस २५ बुधबार, बिहान १०:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेशी जनताले ठग नेतालाई पहिचान गर्न नसकेकै कारणले मधेश पछि परेको बताएका छन् । मधेशलाई मधेशी नेताहरुले ठग्दै आएको आरोप लगाउँदै उनले प्रदेश २ लाई अबको देशको सबैभन्दा समृद्ध तथा शिक्षित प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताएका हुन् ।
मन्त्री यादवले धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका वडा नंं. ६ को सिरसियामा समाजवादी युवा फोरम नेपालको वडास्तरीय भेलाको उद्घाटन गर्दै अहिले प्रदेश सरकारले कानुनको निर्माणमा तीब्रता दिएको पनि बताए ।
उनले प्रदेश सञ्चालनका लागि तथा प्रदेशलाई समृद्ध बनाउनका लागि कानुनको आवश्यकता रहेकाले प्रदेश सरकारले चाहिने जति कानुनको निर्माणमा सक्रिय भएको जनाए । प्रदेश नंं. २ लाई विभेद रहित प्रदेश निर्माणका लागि नै जनसंख्याको आधारमा नोकरीमा सहभागि गराउनका लागि कानुनको निर्माण गरेर संघीय रकारलाई पनि त्यस्तो कानुन ल्याउनका लागि कडा चुनौति पनि दिए ।
मधेशका जनतालाई ठगेर सत्ता तथा सरकारमा पुगेका यसै क्षेत्रका ठूला नेताले पनि मधेशी जनताको मागको संबोधन गराउनका लागि ईमान्दार नभएकाले पहिचान गर्नका लागि आग्रह गर्दै संघीय समाजवादी फोरम नेपालले मधेशीलाई मात्र होईन पहाडको आदीवासी तथा जनजातिहरुलाई पनि अधिकार दिलाउनका लागि कामकाज गरेको बताए ।
अहिले पनि पार्टी सडक, सदन तथा सरकारमा रहेर मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि कामकाज गरिरहेको बताउदै खस तथा नोकरशाह संग सावधान रहनका लागि पनि कानूनमन्त्री समेत रहेका यादवले बताए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री योगेन्द्र राय यादवले मधेश प्रदेश राजनीतिक विषय भएकाले यसलाई गौरवशाली ईतिहास बोकेको मिथिला, जनक तथा जानकी संग जोडेर अपमान नगर्नका लागि पनि आग्रह गरे । मिथिला, जनक तथा जानकी हाम्रो गौरव भएकाले यसलाई राजनीतिकमा नघचेट्नका लागि आग्रह गर्दै पहाडी वर्गको चाकडी तथा चाप्लुसी गर्नेसंग सावधान रहनका लागि पनि रायले आग्रह गरे ।
फोरमका युवा नेत्री सीता देवी यादवले फोरमको आन्दोलन तथा शोचका कारणले नै मधेशी जनता अहिले शासक बन्न पाएको बताउदै अव मधेशमा कुनै पनि जात वर्ग एवं समुदायको व्यक्ति उपेक्षा भावले अगाडी बढ्ने अवस्था नभएको बताईन् ।
विमरोश कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रदेश सभा सदस्य चमेली देवी दास, केन्द्रीय सदस्य साधु यादव, लालबाबु यादव, प्रदेश सदस्य लालजी शरण यादव, शत्रुधन यादवले पनि बोल्नु भएको थियो ।
वडास्तरीय अधिवेशनवाट विमरोश कुमार यादवको अध्यक्षतामा २१ सदस्यीय युवा फोरमको युवा कमिटि गठन गरेको छ । युवा कमिटीको उपाध्यक्षमा तपेश्वर यादव, कोषाध्यक्षमा राजेश शंकर यादव, सचिवमा सत्यम यादव, सहसचिवमा मनोज राम सहितका २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
यसैगरी, भेलावाट महिला तथा अन्य युवा कमिटि पनि गठन गर्ने कामकाज भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…