जनकपुरमा ८३ लाख नगदसहित ४ हुण्डी कारोबारी फन्दामा
उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

२०७५ पुस २२ आइतबार, दिउँसो २:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीको टोलीले जनकपुर उपमहानगरपालिका–११ स्थित किशोरीनगरमा ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।
किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरि पालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भारत मधुवनी बासोपट्टका सन्तोष महतो र नरेश महतो तथा जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र सोही उपमहानगरपालिका वडा नं. २ का मोख्तार महमद रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाव खाताका साथै ६ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…