जेलमै रहेका डा. सिके राउतलाई पक्राउ गर्न पुनः आरेष्ट वारेन्ट जारी
अन्य १९ जना उपर यही प्रकृतिका मुद्दा दायर

२०७५ पुस १ आइतबार, बिहान ९:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । करिब अढाई महिनादेखि कैदमा रहेका डा. सिके राउतलाई पुनः पक्राउ गर्नको लागि पक्राउ पूर्जी (आरेष्ट वारेन्ट) जारी गरिएको छ ।
राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई धनुषा जिल्ला अदालतले सोही प्रकृतिको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । गत असोज २१ गते रौतहटबाट पक्राउ गरिएका डा. राउतलाई पुनः पक्राउको लागि आदेश गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले राज्य विरुद्धको कसूर तथा संगठित अपराधविरुद्ध मुद्दा दर्ता गराएपछि पक्राउ आदेश जारी गरिएको छ । गत असोज ३ गते जनकपुरधाममा कालो दिवस मनाएको तथा उनले गरेको प्रदर्शन र भाषणवाजीलाई आधार बनाउँदै धनुषा जिल्ला अदालतले उनलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको हो ।
राउतसँगै १९ जनाविरुद्ध धनुषा प्रहरीले जिल्ला सरकारी वकिल शम्भु गौतममार्फत् धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
महोत्तरीको बलबा नगरपालिका–३ स्थित परौल बस्ने सञ्जयकुमार यादवलाई अदालतले माग गरेको १ लाख धरौटी बुझाउन नसकि कारागार चलान भएका छन् ।
शुक्रवार नै सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका सह सँयोजक कैलाश महतो र रुपन्देहीका श्रीकृष्ण यादवलाई एउटै प्रकृतिको मुद्दामा महतोलाई २ लाख ५० हजार तथा यादवलाई १ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेपछि धरौटी अस्विरका गर्दै जेल चलान भएका हुन् ।
गत असोज २१ गते प्रदेश नं. २ को रौतहट जिल्ला अदालतमा राज्य विरुद्धको संगठित अपराध मुद्दामा तारेख लिन जाँदा रौतहट जिल्ला प्रहरीले उनलाई पक्राउ गरी उच्च अदालत विरगँजमा पेश गरेको थियो । डा. राउतलाई रिहा गर्नको लागि उनका दाई जयकान्त राउत (जेके राउत) ले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए भने उनको रिट सर्वोच्च अदालतले खारेज गरेपछि पुनः रौतहट जिल्ला अदालत पठाइएको थियो ।
असोज ३ गते संविधान दिवसमा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता एवम् डा. राउतका समर्थकहरुले कालो दिवस मनाएपछि त्यही मुद्दामा धनुषा जिल्ला अदालतले उनलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…