जनकपुरधाममा 'विवाहपँचमी' को रौनक
उत्तर प्रदेशका मुख्यमन्त्री योगीको महोत्सवमा सहभागिता

२०७५ मंसिर १८ मंगलबार, बेलुकी ५:११ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्षझैँ यसवर्ष पनि मँसिर मसान्त चढे लगत्तै विदेह राजा जनकको नगरीमा रौनकता छाएको महसुस गर्न सकिन्छ ।
आउँदो यही मङ्सिर २६ गते जनकपुरधाममा आयोजन हुने रामजानकी विवाह महोत्सव अर्थात विवाहपँचमीको लागि सरोकारबालाहरुले उत्साहपूर्ण रुपमा तयारी गरिरहेको र तयारी भईपनि सकेको बताएका छन् ।
विगतका कालमा हात्ति घोडामा अयोध्याबाट जन्ती आउने परम्परा परास्त हुँदै गएपनि जनकपुरधाम प्रत्येक वर्ष लाग्ने विवाहपँचमी महोत्सवको रौनकता भने अझै नगएको महसुस गर्न सकिन्छ ।
महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ ।
प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा रंगभूमि मैदान सम्म सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा भइरहेको छ ।
सुरक्षाकर्मी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाजका अगुवाको सहभागितामा बाह्रबिघाको सरसफाइ र उपमहानगरपालिकाद्वारा समेत तीव्र गतिमा जानकी मन्दिर आसपासका सडक निर्माण, सडक व्यवस्थित गर्ने कार्य भइरहेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगीको महोत्सवमा सहभागिता समेतलाई दृष्टिगत गर्दै स्वागत, भण्डारा लगायत सम्पूर्ण कार्यक्रम तय गरिसकिएको प्रष्ट प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत बताउँछन् ।
महोत्सवलाई हर्षोल्लासपूर्वक मनाउन र महोत्सवमा आगन्तुकको सहभागिताका लागि हिजो आज विभिन्न मङ्गल गान सुनिन्छ :
‘आज शुभ दिन मङ्गल गाउँ हे
जानकीके होयत विवाह
जनकपुर आउ हे ।।।
हुने गोस्वामी तुलसी दासले रामायणमा वर्णन गर्नुभएअनुसारको सीताराम विवाह महोत्सवमा आमसमुदायलाई सहभागी हुन जनकपुरधामका नारीद्वारा गरिने निम्तो हो – मङ्गल गान ।
जनकपुरधाममा राजा जनकद्वारा धनुषको ताँदो चढाउन प्रस्ताव भएकामा अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएपछि गुरू विश्वामित्रको साथमा आउनु भएका उहाँले सीतासँग स्वयंवर गर्नुभएकाले सो को संझनामा यहाँ सीताराम विवाह महोत्सव मनाइने चलन चलेको हो ।
रामायणमा उल्लेख भएअनुसार जनकपुरधामको बाह्रबिघामा आयोजना गरिएको सो स्वयंवरमा विभिन्न देवीदेवताको उपस्थिति थियो । सोही विवाहको प्रसङ्गलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्नु नै सीताराम विवाह महोत्सवको विशेषता हो ।
सीतालाई छोरी र बहिनीका रूपमा मान्ने मिथिलावासी विवाह महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् । रामलाई ज्वाइँ एवं भिनाजुका रूपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीताराम विवाह महोत्सवमा।
‘चलु सखी देखए चुमाओन हे
जनकजीके अङ्गना।।। ’
भनी आशीष दिने गरिन्छ । मिथिलामा कुनै पनि धार्मिक–सांस्कृतिक अनुष्ठानमा सीतारामको चर्चा हुने भएकाले प्रत्येक दुलहालाई राम र दुलहीलाई सीताको रूपमा विवाह गर्ने गरेका छन् । यसैगरी हरेक आमा सीताकी आमा बनेर ;
‘एक दिन आहे सीता मन्दिर निपय गेली
धनुषा देल ओङ्गठाय
घरसँ बहार भेली सुनयना
बैस गेली देहरि झमाय।।। ।’
भनी गित गाउने गर्छिन् | विवाह महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाइ धर्मावलम्बी पनि सहभागी हुने गर्दछन् । महोत्सवका क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह गरिँदा त्रेतायुगको झलक कलियुगमा पनि देख्न पाइन्छ ।

यसअन्तर्गत पौराणिक व्यवस्थाअनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी बाह्रबिघा पु¥याइन्छ भने जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी बाह्रबिघा लगिन्छ ।
बाह्रबिघामा स्वयंवर र वैवाहिक विधि सम्पन्न भएपछि प्रतीकात्मक सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।
जनकपुरधामका बारेमा मिथिला महात्म्यमा ‘जानकी जन्मभूम्यां यः प्राणत्याग करौती वेन याति विष्णु पदवी पापरागिनी पि हि ।।।’ (जानकीको जन्मभूमिमा जसको देह त्याग हुन्छ, त्यो व्यक्ति सयौँ पापको भागी भएर पनि विष्णुलोक पुग्छन् । यही भावले पनि जनकपुरधाम नपुगेका एकपटक यहाँ आउन चाहन्छन् ।) भनी उल्लेख गरिएकाले यस महोत्सवलाई सुवर्ण अवसरका रूपमा लिइन्छ ।
बाह्रबिघामा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँ–गाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सम्मिलित श्रद्धालुको उत्साहमा यो महोत्सवमा वास्तविक विवाहझैँ रमाइलो गरिने चलन रहेको छ ।
योगी आदित्यनाथको जनकपुरधाम आगमनपछि जनकपुरधाम विशुद्ध रुपले धार्मिक पर्यटकीय स्थलमा चिनाउने विश्वास लिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदादेखि जनकपुुरधामको पर्यटकीय क्षेत्रमा वृद्धि र विकास समेत भएको देखिएको छ ।
यसपाली विवाहमहोत्सवमा हजारौँ हजारको सँख्यामा गाउँ गाउँ सहित भारतको समेत विभिन्न ठाउँबाट दर्शालुहरु आउने विश्वास गरिएको छ ।
अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाउन सकिन्छ, तर जनकपुरधाममा गरेको पापबाट मुक्ति पाउने स्थान विश्वमा कत्तै पनि नभएको मान्य अहिले पनि सर्वसाधारणमा रहेको छ । यसै अनुरुप अहिले जनकपुरधामको पर्यटकीय क्षेत्र विकास पनि तिव्रता लिएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…