डा. सिके राउतको रिट खारेज, फेरी थुनामै पठाइयो !
उनका समर्थकहरु भने रत्तिभर पनि निरास नभएको तथा यसलाई संघर्षको संज्ञा दिएका छन् ।

२०७५ मंसिर १७ सोमबार, बेलुकी ६:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । छ - छ पटकसम्म तारिख दिएको सर्वोच्च अदालतले डा. सिके राउतको रिट नै खारेज गरेको छ ।
राज्य विरुद्धको विप्लव मुद्दामा पटक पटक पेशी चढाउँदै आएका सर्वोच्च अदालतले सोमबार डा. राउतको पक्षबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटलाई खारेज गरिदिएको छ ।
स्वतन्त्र मधेस गठबबन्धनका सँयोजक समेत रहेका डा. राउतलाई विगत ६१ दिनदेखि प्रहरी हिरासतमा राख्दै आएको छ । सोमबार फैसला सुनाउने आसमा रहेका गठबन्धनका कार्यकर्ता एवम् राउतका शुभचिन्तक, समर्थकहरुले रिट खारेज भएपछि प्रहरीको षडयन्त्र भएको बताएका छन् ।
सोमबार भएको बहसपश्चात् सर्वोच्च अदालतले जिल्लाको मुद्दा भएकोले जिल्लाले नै फैसला दिने भनी बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।राज्य विप्लवकै मुद्दामा तारिख लिन रौतहटको गौर पुगेका डा. राउतलाई गत असोज २१ गते जिल्ला अदालत परिसरबाट पक्राउ गरी उच्च अदालत विरंगमा समेत पेश गर्दै हिरासतमा राख्दै आएको थियो ।
डा. सिके राउतका दाई जयकान्त राउत (जेके राउत) ले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोमबार सर्वोच्च अदालतमा सरकारी वकिल सहित डा. राउतको पक्षका वकिलले समेत बहस गरेपनि अन्तत उनको रिटलाई खारेज गर्दै पुनः थुना फर्काएका हुन् ।
यसअघि सरकारको तर्फबाट प्रहरीले ठोस प्रमाण जुटाउन नसक्दा सर्वोच्च अदालतले पटक–पटक पेशी सार्दै आएको थियो । ५ पटकसम्म पेशी सारेका सर्वोच्च अदालतले ६ औँ पटक पूर्ण बहस गरेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…