मधेशका मुख्यमन्त्री राउत उपर संकट 'रेखा'
‘रेखा थापालाई एम्बेष्टरको रुपमा ल्याउनु के बाध्यता थियो ? मधेशमा त्यस्तो अरु कोही छैन ?

२०७५ मंसिर १३ बिहीबार, बिहान ७:४५ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले ल्याएको मुख्यमन्त्री योजना अन्तर्गत ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा नेपाली फिल्म जगतको नायिका रेखा थापा जोडिएपछि प्रदेशका सांसदहरुले संसदमा चर्को विरोध गरेका छन् ।
बुधवार प्रदेश २ को दोश्रो अधिवेशन अन्तर्गत बसेको ४२ औं बैठकमा सांसदहरुले बोल्दै तराई मधेशको जिल्लामा कुनै कालाकार वा अभिनेत्री नभए जस्तो रेखा थापालाई लयाएर ब्राण्ड एम्बेष्डर बनाएको आक्रोश व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा ८१ करोड बजेट ल्याएर नीजि कार्यक्रम जस्तै सञ्चालन गरिरहेको आरोप लगाए। उनले मधेशका दलित तथा पिछिडिएका महिलाहरु बस्तिमा रेखा थापाको नाम, भाषा, तथा अनुहार नै नमिल्ने भएकोले तत्काल त्यसलाई परिवर्तन गर्नुपर्ने माग गरे ।
सांसद मनोज कुमार सिंहले देशकै सबैभन्दा पुरानो शहर राजविराजलाई सडक विस्तारको नाममा शहर नै विस्थापित हुने विकासबारे सरकारको ध्यानाकर्षण गराए । उनले ५०– ५० फिट सडक विस्तार हुँदा सम्पुर्ण संरचनाको विध्वंश हुने भएकोले तत्काल त्यसलाई रोकी रिङ्गरोडको स्थापना गरी सहायक र राजमार्गसंग जोड्न माग गरे ।
सारदा शंकर प्रसाद साहले पर्साको क्षेत्र नं. ४ (ख) मा विकास निर्माणको काम नभएको गुनासो गर्दै भएको सामुदायिक विद्यालयमा समेत प्रावि शिक्षकले मावि कक्षाका विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता रहेको सुनाए ।
उनले भने, ‘विकास विकास हामी हल्ला गर्छौ, तर शिक्षा नै भएन भने कुनै विकास काम लाग्दैन । प्रावि शिक्षकले मावि कक्षाका विद्यार्थीलाई पढाउछ, अनि हामी विकास कुरा गर्छौ ।’ भन्दै सरकारलाई तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…