‘डा. सिके राउतलाई हिरासत भित्र यातना दिने षड्यन्त्र’
५ दिनभित्र उपस्थित गराउन आदेश जारी भएपनि २ हप्ता बितिसक्दासम्म गराइएको छैन ।

२०७५ कार्तिक २६ सोमबार, दिउँसो २:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई हिरासत भित्र समय लम्ब्याएर प्रहरी र सरकारले यातना दिने षड्यन्त्र गरेको आरोप लगाइएको छ । गत कार्तिक १३ गते भएको बहसबाट डा. राउतलाई ५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी भएपनि हालसम्म नगराउँदा डा. राउतका दाई डा. जयकान्त राउतले नेपाल प्रहरी र सरकारले आफ्नो भाईलाई यातना दिने षड्यन्त्र रचेको आरोप लगाएका हुन् ।
डा. राउतको सामान्य परिवारिक जीवनचक्रलाई नष्ट गर्ने उद्देश्यले नेपाल प्रहरी र नेपाल सरकारले पटकपटक एकै प्रकृतिको मुद्दामा हिरासतमा लिने गरेको आरोप लगाएका छन् । उनले एउटै मुद्दामा पटकपटक गिरफ्तार नगर्न गत कार्तिक १२ गते सोमबार बन्दी प्रत्यक्षीकरणको र प्रतिषेध परमादेश लगायत जे जो चाहिने आदेश जारी गरीपाउँ भनी सर्वोच्च अदालत काठमाडौंमा रिट दायर गरेको थियो । उक्त रिट उपर कार्तिक १३ गते मंगलबार अधिवक्ता बिरेन्द्र कुमार ठाकुर र सुनिल कुमार पट्टेलले गरेको बहस पश्चात डा. राउतलाई ५ दिन भित्र महान्यायधिवक्ताको कार्यालय मार्फत उपस्थित गराउन आदेश जारी गरिएको थियो ।

उक्त रिट जिल्ला अदालत रौतहट गौर, जिल्ला प्रहरी कार्यालय गौर, प्रहरी प्रधान कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय रौतहट विरुद्ध दायर गरिएको थियो ।
उनले न्यूज ब्यूरोसँग कुरा गर्दै डा. राउतलाई ५ दिनभित्र उपस्थित गराउन आदेश जारी भएपनि २ हप्ता बितिसक्दासम्म सम्बन्धित निकायहरुले सर्वोच्च अदालतको आदेशलाई वास्ता नगरिरहेको दुखेसो पोखे ।
आदेश जारी गरिएको मितिदेखि ५ दिनभित्र लिखित जवाफसाथ डा. राउतलाई उपस्थित गराउन आदेश जारी गरिएपनि आज १४ दिनसम्म समेत उपस्थित गराइएको छैन ।
राज्य विप्लवको मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसहित ५ जनालाई रौतहट प्रहरी हिरासतमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…