कल्याणपुर नगरपालिकाको बजेट ५३ करोड ९२ लाख, युवा पलायन रोक्न जोड
युवालाई मासिक प्रोत्साहन भत्ता स्वरुप १० हजारको सुविधा प्रदान गरिने

२०७५ असोज २० शनिबार, दिउँसो १२:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति, योजना तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । कल्याणपुर नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षका लागि ५३ करोड ९२ लाख ६५ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
असोज १५ गते सम्पन्न नगरसभाले पारित गरेको बजेटमा प्रत्येक वडालाई समान रुपमा “विकास र कार्यक्रम” को लागि ८२÷८२ लाख रकम विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, विकास र सुशासन अभिवृद्धि सफा सुन्दर कल्याणपुरको दिगो समृद्धिको नारा तय गर्दै नगरपालिकाले “एक वडा एक ठोस योजना” को लागि २५ लाख रकम विनियोजन गरेको नगर प्रमुख सूर्यनाथ मण्डलले बताए ।
उपमेयर रोहिनी यादवले स्वागत मन्तव्य राखेको सार्वजनिकीकरणमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्री नारायण यादवले नीति, योजना, कार्यक्रम सहितको बजेट प्रस्तुत गरेका थिए । कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले नगरभित्रका युवाहरु पशुपालन र व्यवसायिक रुपमा कृषि खेतीमा आवद्ध भएमा सहयोग गर्ने बताएका छन् ।
नगरपालिकामा खेतीको उर्वर भूमि रहेकोले खेतीसँगै पशुपालनमा लाग्ने युवालाई मासिक प्रोत्साहन भत्ता स्वरुप १० हजारको सुविधा प्रदान गर्ने थपे । वैदेशिक रोजगारीमा युवाहरु आकर्षित भैरहेको अवस्थामा यस योजनाले युवाहरुलाई व्यवसायिक खेती र पशुपालनमा जोड्न वातावरण बन्ने मेयर मण्डलले विश्वास व्यक्त गरे ।
नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा “एक नमूना विद्यालय” को रुपमा स्तोरोन्नती गर्ने योजना रहेको मेयर मण्डलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…