मोतिहारी–अमलेखगञ्ज 'पेट्रोलियम पाइपलाईन' को काम तीव्र : मन्त्री प्रधान
पाइपलाइनबाट तेल आउन थालेपछि भारत र नेपालको सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास

२०७५ असोज १४ आइतबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले नेपाली जनताहरुको सुविधाको लागि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम तीव्र रुपमा भइरहेको बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले शनिबार संयुक्त रुपमा जानकी मन्दिरमा पूजाअर्चना गर्दै मन्त्री प्रधानले भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रियोस् भन्ने चाहेको बताए ।
मन्त्री प्रधानले पाइपलाइनबाट तेल आउन थालेपछि भारत र नेपालको सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास समेत व्यक्त गरे ।
यता, उद्योगमन्त्री यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुन थालेपछि पेट्रोलियम पदार्थका क्षेत्रमा देखिएका समस्या र झन्झट हट्ने दाबी समेत गरे ।
जनकपुर आउनुअघि दुवै मन्त्रीले धनुषाको धनुषाधाममा ‘चालक तालीम केन्द्र’को उद्घाटन गरेका थिए ।
नेपाली जनताको सुविधाका लागि निर्वाध रुपमा पेट्रोल पठाउन मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम तीव्र गतिमा भइरहेको बताउँदै उनले भने, “अहिलेसम्म ट्याङ्करमार्फत तेल आयात भइरहेको छ । प्राकृतिक विपद्को बेला पेट्रोलियम पदार्थ आयात गर्न समस्या हुन्छ । त्यसैले भारतीय आयल कर्पोरेशनको ३२२ करोड भारतीय रुपैयाँको लगानीमा पाइप लाइन निर्माण भइरहेको छ ।”
नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरेका उक्त ६९ किलोमिटर पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको समीक्षा गर्न आफू नेपाल भ्रमणमा आएको उनले थपे ।
अन्तर्राष्ट्रियस्तरको परियोजनाका रुपमा सबैभन्दा पहिले अमलेखगन्ज–मोतिहारी पाइपलाइनको काम सम्पन्न हुने मन्त्री यादवको भनाइ छ । “तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि अहिले जुन गतिमा काम भइरहेको छ । यसले एक वर्षमा पाइपलाइन निर्माणको काम सम्पन्न हुन्छ ।” उनले भने ।
उहाँले पाइपलाइनबाट तेल आउन थालेपछि सबै प्रकारको झमेलाबाट मुक्त हुनुको साथै पेट्रोलियम पदार्थको मूल्यसमेत घट्ने बताउनुभयो । मन्त्री यादवले ग्यास आउने पाइपलाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…