संविधान दिवसको पूर्वसन्धयामा सिके राउतका १३ जना कार्यकर्ता पक्राउ !
मधेसी जनताले संविधानको विरोध गरेको भन्दै डा. सिके राउतको गठबन्धनले कालो दिवस मनाउने घोषणा गरेको छ ।

२०७५ असोज २ मंगलबार, दिउँसो २:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संविधान दिवसको पूर्व सँध्यामा डा. सिके राउतका १३ जना कार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
असोज ३ गते मनाइने संविधान दिवसका दिन डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले कालो दिवस मनाउने उद्घोष गरेपछि नेपाल प्रहरीले उनका कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गर्न सुरु गरेको हो । स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले दिएको जानकारी अनुसार गठबन्धनका १३ जना कार्यकर्तालाई विभिन्न ठाउँबाट प्रहरीले मँगलबार दिउँसै पक्राउ गरेको हो ।
बुधबार मनाउन लागिएको कालो दिवसलाई विथोल्नको लागि प्रहरीले मँगलबार दिउँसो सप्तरीबाट ९ जना, रौतहटबाट २ जना र रुपन्देहीबाट पनि २ जना गरी जम्मा १३ जनालाई पक्राउ गरिएको खानले न्यूज ब्यूरोसँग भने ।
सप्तरीबाट सुरेन्द्र मधेसी, जुगनु मण्डल, सँजीप विक्रम लगायत ९ जनालाई कञ्चनपुर, कल्याणपुर र भारदह क्षेत्रको घरबाटै पक्राउ गरिएको जनाइएको छ । यस्तै, रौतहटबाट समेत राजु यादव र राम लाल यादवलाई पक्राउ गरेको छ । उनीहरुलाई रौतहटको गरुडा बजारबाट पक्राउ गरिएको हो भने रुपन्देहीबाट समेत सागर सोनार र रामचन्द्र यादव सहितलाई पक्राउ गरि नियन्त्रणमा लिएको छ ।
असोज ३ गते संविधान दिवस रहेको र मधेसी जनताले संविधानको विरोध गरेको भन्दै डा. सिके राउतको गठबन्धनले 'कालो दिवस' मनाउने घोषणा गरेको छ ।
यस अघि प्रहरीले सप्तरीमा आयोजना गरिएको संघीय समाजवादी फोरमको पार्टी प्रवेश कार्यक्रमको दौरान पार्टी अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने सुरसारमा रहेको भन्दै पक्राउ गरी तत्काल नियन्त्रणमा लिएको बताइएको छ ।
स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता खानले कालो झण्डा बाहाना मात्र रहेको भन्दै सप्तरीमा कालो झण्डा बहाना भएपनि रौतहट र रुपन्देहीबाट समेत पक्राउ गर्नु कालो दिवसलाई लक्षित गर्नु मात्र रहेको दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…