फोरमले 'मधेस' बाहेक अन्य ठाउँमा असोज ३ गते 'कालो दिवस' नमनाउने !
नेपाली काँग्रेसको सरकारको पालामा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी गरेका थिए ।

२०७५ असोज १ सोमबार, दिउँसो ४:४० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । तराई-मधेसमा असोज ३ गते कालो दिवस, संविधान दिवसको चर्चा मात्र चलिरहँदा संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कार्य समितिले संविधान दिवसमा कालो दिवस नमनाउने निर्णय गरेको जनाएको छ ।
पार्टीको असोज १ गते सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा वर्तमान परिस्थितिमा संविधान संशोधनको माध्यमबाट संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमी कमजोरीलाई सच्याउँदै, प्राप्त अधिकारहरुलाई संरक्षण गर्दै थप अधिकारहरु प्राप्त गर्न फोरम पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको तथा संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान अवस्थामा पार्टीले कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी हुन कुनै पनि प्रकारको निर्णय नगरेको उल्लेख गरिएको छ ।
संघीय समाजवादी फोरमको केन्द्रीय तदर्थ समितिका उप महासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेसी, आदिवासी, जनजाती, दलित, महिला , खस, थारु मुस्लिम लगायत शोषित उत्पीडित जनताको पक्षमा पार्टी संघर्षरत रहँदै आएको भन्दै संविधानप्रतिको असहमति, विरोध र फरक धारणा यथावत राख्दै असोज ३ गते कुनै पनि कालो दिवसमा सहभागी नहुने उल्लेख गरिएको छ ।

यता, तराई मधेस प्रदेश तदर्थ समितिकी अध्यक्ष रेणु कुमारी यादवले जारी गरेको प्रेस विज्ञप्तिमा भने असोज ३ गते मधेसमा कालो दिवस मनाउने निर्णय भएको बताएकी छन् ।यादवद्धारा भदौ ३१ गते आईतबार जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारले बारम्बार संविधान संशोधनको आश्वासन दिएपनि संविधान संशोधन नगरेको भन्दै असोज ३ गते सरकारको संविधान दिवसमा कालो दिवस मनाउने निर्णय गरिएको हो ।

केन्द्रीय समिति र प्रदेश समितिको धारणा फरक फरक आएपछि आम जनतामा कालो दिवस वा संविधान दिवस मनाउने भनेर अलमलता छाएको छ । वि.स. २०७२ साल असोज ३ गते नेपाली काँग्रेसको सरकारको पालामा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी गरेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…