मिर्चैया नगरपालिका विरुद्ध पुनः १० दिने चरणवद्ध आन्दोलनको घोषणा
यता, मिर्चैया नगरपालिकाले भने पुनः सार्वजनिक सूचना जारी गरी आन्दोलनरत पक्षलाई बार्ताका लागि आह्वान गरेको छ ।

२०७५ भदौ २९ शुक्रबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । विभिन्न ८ बुँदे माग राख्दै आन्दोलनमा रहेका सर्वपक्षीय संयुक्त संघर्ष समितिले नगरपालिका विरुद्ध पुनः १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
संघर्ष समितिले राखेको मागलाई नगरपालिकाले पटकपटक बेवास्ता गरेपछि समितिले पहिलो र दोश्रो चरणको आन्दोलन सम्पन्न गरिसकेको छ । तत्पश्चात् पनि नगरपालिकाले आन्दोलनरत पक्षलाई हालसम्म निकास नदिँदा समितिले तेश्रो चरणको आन्दोलन अन्तर्गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्मका लागि १० दिने आन्दोलनको कार्यक्रम पुनः अघि सारेको छ ।
बिहीवार बसेको संयुक्त संघर्ष समितिको बैठकले भदौ ३० गते माग सम्बोधन गर्न नगरपालिकालाई ४८ घण्टे अल्मिेटम दिने, ३१ गते मागको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष र जिल्ला प्रहरी प्रमुखलाई जानकारी गराइने, असोज २ गते घुर्मी बजारमा सम्बोधन, ३ गते सर्वपक्षीय संयुक्त समितिको बैठक बस्ने, ४ गते बाख्रा (बक्री) बजारमा सम्बोधन, ५ गते मनहर्बा बजारमा सम्बोधन, ६ गते मिर्चैया बजारमा सम्बोधन, ७ गते सिक्रौन बजारमा सम्बोधन, ८ गते मिर्चैयामा मशाल जुलुस प्रदर्शन तथा ९ गते बजार बन्द गरी मिर्चैया नगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम अघि सारेका हुन् । असोज १ गते भने विश्वकर्मा पुजाका दिन एक दिनको लागि आन्दोलन स्थगित रहने समितिले जनाएको छ ।
नगरपालिकाले कर, राजस्व र एकिकृत सम्पतिमा वृद्धि गरेको कर दस्तुर विरुद्ध तथा माग गरिएको विभिन्न तथ्यांकहरु निर्धारित समयमा उपलब्ध नगराइएपछि गठित संघर्ष समिति आन्दोलनमा उत्रिएका हुन् ।
यता, मिर्चैया नगरपालिकाले भने पुनः सार्वजनिक सूचना जारी गरी आन्दोलनरत पक्षलाई बार्ताका लागि आह्वान गरेको छ । नगरपालिकाले बिहीवार सूचना जारी गर्दै असोज १ गतेको लागि आन्दोलनरत पक्षलाई बार्तामा आउन आह्वान गरेको हो ।
समितिले माँग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…