सडकमा उत्रे मिर्चैयाबासी, नगरपालिका विरुद्ध विरोध र्याली प्रदर्शन
समितिले माँग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रम जारी रहने चेतावनी समेत दिएका छन् ।

२०७५ भदौ १९ मंगलबार, बेलुकी ५:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १९ भदौ । सिरहाको मिर्चैया नगरपालिका विरुद्ध विरोध र्याली प्रदर्शन गरिएको छ । विभिन्न शीर्षकमा लागु तथा सर्वसाधारणलाई ढाँड सेक्ने गरी बढाइएको कर विरुद्ध र बुझाइएको ज्ञापन–पत्रलाई बेवास्ता गरेको भन्दै संयुक्त संघर्ष समितिद्धारा मंगलवार मिर्चैयामा विशाल बिरोध र्याली प्रदर्शन गरिएको हो ।
“वृद्धि गरेको कर फिर्ता गर”, “भ्रष्टाचार बन्द गर”, “स्थानिय सरकार मुर्दाबाद” लगायतका नारा धन्काउँदै मिर्चैया नगरपालिका–५ सलहेश चोकबाट निकालिएको बिरोध र्याली थाना चोक, कटारी चोक हुँदै नगरपालिकाको मुलगेट अगाडी कोण सभामा परिणत भएर समापन गरिएको छ ।
संयुक्त संघर्ष समितिले विभिन्न ८ बुँदे माँगसहितको ज्ञापन–पत्र गत साउन २९ गते नगरपालिकामा बुझाएका थिए । ज्ञापन–पत्र बुझ्दै नगर प्रमुख श्रवण कुमार यादवले भदौ १५ गतेभित्र कर शुल्क तथा हरहिसाब पार्दर्शी गर्ने मौखिक प्रतिवद्धता जनाएपनि निर्धारित समयभित्र नरिँदा उनीहरु विरोधमा उत्रिएका हुन् ।
बुझाइएको ज्ञापन–पत्रलाई नगरपालिकाले बेवास्ता गरेपछि समितिको ९ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । संयुक्त संघर्ष समितिले भदौ १९ गतेदेखि २७ गतेसम्मका लागि आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् ।
आन्दोलन कार्यक्रम अन्तर्गत समितिले आज पहिलो दिन विरोध र्याली प्रदर्शन गरेका छन् । समितिले बुधबार २० गते नगरपालिकाको मूल गेटमा धर्ना, २१ गते वडा कार्यालय १ र २ मा धर्ना, २२ गते वडा कार्यालय ३ र १२ मा धर्ना, २३ गते मिर्चैया गुदरी बजारमा विरोध सभा, २४ गते वडा कार्यालय ४, ५ र ६ म धर्ना, २५ गते वडा कार्यालय ७ र ८ मा धर्ना, २६ गते वडा कार्यालय ९ मा धर्ना र २७ गते वडा कार्यालय १० र ११ मा धर्ना दिने सहित ९ दिने आन्दोलनको घोषणा गरेका छन् ।
संयूक्त संघर्ष समितिले ज्ञापन–पत्र मार्फत हाल वृद्धि गरिएको कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगन हुनुपर्ने, पुरानो कर पनि संशोधन पश्चात् मात्र लागु गर्नुपर्ने, आ.व. २०७४÷७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईस्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनु पर्ने, विभिन्न निकायबाट विभिन्न शिर्षकमा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनु पर्ने, कोटेशन र सडकबोर्डको कार्यको विवरण उपलब्ध गराउनु पर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, घटना दर्ता, मृत्यू दर्ता, बसाई सराईलगायतका सेवा निःशुल्क हुनुपर्ने, विभिन्न शिर्षकमा वडा र नपामा खरिद भएका समाग्रीहरुको भुक्तानीको विवरण उपलब्ध गराउनु पर्नेलगायतका आठ बुँदे माग राखेका छन् ।
यता, मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबले सार्बजनिक सुचना जारी गर्दै आन्दोलनरत पक्षलाई बार्ताका लागि आह्वान समेत गरेका छन् । समितिले भने नगरपालिकाको आह्वानलाई सकारात्मक रुपमै लिएका छन् ।
समितिले माँग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रम जारी रहने चेतावनी समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…