नगराईन नपामा ३० दिनको तालाबन्दी अझै खुलेन, अधिकृतको सरुवा
अधिकृत महतोले नै विना जानकारी नगरपालिकाको नाम परिर्वतन माइनुटमा हस्ताक्षर गराउन खोजेको आरोप

२०७५ भदौ ८ शुक्रबार, बिहान १०:०९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ भदौ । धनुषा स्थित नगराइन नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्रनारायण निधि राख्न खोजिएपछि ३० दिनदेखि नगरपालिकामा तालाबन्दी भएको छ ।
प्रमुख, उपप्रमुखसहित ५ वडामा नेपाली कांग्रेसले जितेको उक्त नगरपालिकाको नाम परिवर्तन गरी कांग्रेसका स्वर्गीय नेता महेन्द्रनारायण निधिको नामबाट राख्न खोजिएपछि विवाद उत्पन्न भएको थियो । आजको न्यूजपेपर दैनिकमा समाचार छ ।
नगरपालिकामा प्रमुख, उपप्रमुख सहित ५ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकी ४ वटा वडा नेकपाले जितेको छ । नगरसभामा नगरपालिकाको नाम परिवर्तन गरी कांग्रेसका स्वर्गीय नेताको नामबाट नामाकरण गर्ने प्रस्ताव लगेपछि नेकपाका वडाध्यक्षहरुले नगरपालिकाको मूल गेटमै तालाबन्दी गरिदिएका हुन् ।
उनीहरुले साउन ११ गतेदेखिनै तालाबन्दी गरे पनि अझैसम्म ताला खुलेको छैन । तालाबन्दी भएयता नगरपालिकाले सम्पादन गर्ने कार्य पूरै प्रभावित भएको छ भने सेवाग्राहीको सेवा पाउने अधिकारसमेत कुण्ठित भएको छ ।
तालाबन्दीका कारण कर्मचारीहरु कार्यालय बाहिरै सादा कागजमा हाजिरी गरेर घर फर्कदै आएको स्थानीय सञ्जय महतोले बताए। यता, लामो समयदेखि कार्यालय बन्द भएपछि नगरसभाबाट पारित गरिएको योजनाहरुको कामकाज अलपत्र छन् ।
सेवाग्राहीको दैनिक हुने कामकाज प्रभावित हुदै आएको छ । कार्यालय नखुलेकाले नगरपालिकाबाट सम्पादन भएका निमार्ण सम्बन्धी कामको कार्यसम्पादन, नगरको वार्षिक आर्थिक विवरण, लेखा परिक्षण, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनसहितको कामकाज प्रभावित भएको नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोले बताए ।
आफूहरुले जितेको र नाम परिवर्तन गर्न सक्ने अवस्था कार्यकारी अधिकृतको सरुवा, ताला खुलाउन मेयर उदासिन रहेकाले नगरसभामा नगरपालिकाको नाम परिवर्तन गर्ने प्रस्ताव लगिएको असन्तुष्ट पक्षको आरोप छ ।
निधि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका स्वर्गीय बाबु हुन्। नगरपालिकामा तालाबन्दी भए पनि वाडा कार्यालयहरुले भने कार्य गर्दै आएका छन् । तर नगरपालिकामा ताला लागेकाले उसँग समन्वय गरी गर्नुपर्ने कतिपय कामहरु प्रभावित भएको स्थानीयको गुनासो छ । आन्दोलित वडा अध्यक्षहरु नगरपालिकाको नाम परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता नै नरहेको बताउँछन् ।
यदि व्यक्तिकै नाममा नगरपालिकाको नाम राख्ने हो भने पञ्चायतकालका नेपाली काग्रेसकै अभियन्ता सहिद दुर्गानन्द झाको नामबाट नामाकरण गर्न उनीहरुले सुझाएका छन् ।
आन्दोलित वडाध्यक्षहरुले प्रमुख, उपप्रमुखलाई राज्यपक्षद्वारा वेपता पारिएका डा. लक्ष्मीनारायण झा वा भोगौलिक रुपमा जमुनी नदी, माता सिताको नामबाट नामाकरण गर्ने विकल्पसमेत दिएका छन् ।
तर एउटै व्यक्तिको नामले चारैतिर नामाकरण गर्न नहुने भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ । कार्यकारी अधिकृतको सरुवा यसैबीच नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोको सरुवा भएको छ ।
नगरपालिकाको नाम परिवर्तन गर्नमा कार्यकारी अधिकृत महतोकोसमेत भूमिका रहेको स्थानीयको आरोप रहेको बेलामा कार्यकारी अधिकृतको सरुवा गरिएको छ ।
असन्तुष्ट वाडा अध्यक्षहरुले कार्यकारी अधिकृत महतोले नै विना जानकारी नगरपालिकाको नाम परिर्वतन माइनुटमा हस्ताक्षर गराउन खोजेको आरोप लगाएका छन् ।
महतो भने आफ्नो सरुवाको आधिकारिक पत्र आइनसकेको बताउँछन् । महतोले भने ‘मलाई सर्लाहीको बलरा नगरपालिकामा सरुवा गरेको भनेर जानकारी आए पनि आधिकारिक पत्र आईसकेको छैन।’ कार्यालयको तालाबन्दीका कारण आफूले कतिपय अधुरा काम पूरा गर्न नपाएको उनको गुनासो छ ।
सरुवाको पत्र आए पनि कार्यालयमा तालाबन्दी रहेकाले कतिपय अधुरा कामकाज पुरा गर्न बाँकी रहनुको साथै कार्यालयको सरसमान बरबुझारथ गर्नु पर्ने हो तर अहिले कार्यालयमा तालाबन्दी भएर समस्या भएको उनले बताए ।
ताला खुलाउन मेयरको उदासिनता झण्डै एक महिनादेखि नगरपालिकामा तालाबन्दी भए पनि तालाबन्दी खोली कार्यालय सञ्चालन गर्न नगरप्रमुख परमेश्वर यादवले उदासिनता देखाएका छन् ।
९ मध्ये ४ वडा अध्यक्षसहित १९ जना जनप्रतिनिधीले नगरपालिकाको नाम परिवर्तन गर्नु हुदैन भन्दै कार्यालयमा तालाबन्दी गरे पनि हालसम्म प्रमुख यादवले ताला खोल्न खासै चासो देखाएका छैनन् ।
कार्यालयमा लगाइएको ताला दलबलसहित प्रहरीको सहायतामा खोलाउने प्रयास गरे पनि प्रमुख यादवले असन्तुष्ट पक्षसँग वार्ता वा छलफल गरेका छैनन् ।
प्रमुख यादवले ताला खोलाउने बारेमा आन्तरिक छलफलमा रहेको बताए । उनले एकतर्फी रुपमा ताला खोलाउने प्रयास गरे पनि असन्तुष्ट पक्षसँग छलफल र वार्ता नगरेकाले कार्यालयको कामकाज प्रभावित भएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…