नयाँदिल्ली । भारतीय तटरक्षक बल र गुजरात आतंकवाद निरोधक दस्ता (एटीएस)ले अरब सागरमा संयुक्त कारबाही गर्दै ३ हजार करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यको लागुऔषध बरामद गरेको छ । कारबाहीका क्रममा पाँच जना पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।
भारतीय तटरक्षक बलका अनुसार सेप्टेम्बर २५ मा लक्षद्वीपको पश्चिमतर्फ अरब सागरमा शंकास्पद इरानी धौ नामक डुंगामाथि कारबाही गरिएको थियो । गोप्य सूचनाका आधारमा समुद्र र हवाई माध्यमबाट निगरानी गर्दै उक्त डुंगालाई पछ्याइएको थियो । त्यसपछि तटरक्षक बलले पीछा गर्दै डुंगा नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा करिब ५२६ किलो उच्च गुणस्तरको लागुऔषध बरामद भएको बताइएको छ । बरामद पदार्थमा हेरोइन र मेथाम्फेटामाइन रहेको भारतीय तटरक्षक बलले जनाएको छ । यसको अन्तर्राष्ट्रिय अवैध बजार मूल्य ३ हजार करोड भारतीय रुपैयाँभन्दा बढी रहेको अधिकारीहरूको दाबी छ ।
कारबाहीका क्रममा उक्त डुंगामा रहेका पाँच जना पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिइएको थियो । डुंगा, चालक दल र बरामद लागुऔषधलाई सशस्त्र सुरक्षासहित मुम्बई ल्याइएको छ । त्यहाँ विभिन्न निकायले संयुक्त रूपमा उनीहरूमाथि सोधपुछ तथा थप कानुनी अनुसन्धान गरिरहेका छन् ।
भारतीय अधिकारीहरूका अनुसार कारबाहीको उद्देश्य समुद्री मार्गबाट भइरहेको अन्तरदेशीय लागुऔषध तस्करीको सञ्जालमाथि अनुसन्धान गर्नु हो । अनुसन्धानकर्ताले लागुऔषध कहाँबाट ल्याइएको थियो, कहाँ पुर्याउने योजना थियो र यसको पछाडि रहेका व्यक्ति तथा सञ्जालबारे अनुसन्धान गरिरहेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात एटीएसले यसअघि प्राप्त गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाएको थियो । इन्डियन एक्सप्रेसले जनाएअनुसार करिब ५०० किलो मेथाम्फेटामाइन र हेरोइनको कारोबारसम्बन्धी सूचना पाएपछि समुद्री मार्गमा निगरानी बढाइएको थियो ।
भारतीय तटरक्षक बलले यो कारबाही समुद्री मार्ग हुँदै हुने अन्तरदेशीय लागुऔषध तस्करी रोक्ने अभियानअन्तर्गत गरिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ असोज १४ बुधबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्


