१५ दिने अल्टिमेटम सकियो, मधेस युवा सञ्जाल फेरि स्वास्थ्य मन्त्रालयमा

२०८३ असोज १४ बुधबार
बेलुकी ५:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही र अनियमितता सुधारको माग गर्दै मधेस युवा सञ्जालले दिएको १५ दिने अल्टिमेटम पूरा भए पनि प्रदेश सरकारबाट ठोस प्रतिक्रिया नआएको जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा सुधारसहित १३ बुँदे माग राख्दै सञ्जालले गत भदौ ३० गते मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै १५ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएको थियो । उक्त अवधिमा माग सम्बोधन नभएपछि सञ्जालका प्रतिनिधिहरू बुधबार पुनः मन्त्रालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।

सञ्जालका अनुसार मन्त्रालय पुग्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सचिव दुवै अनुपस्थित रहेका कारण उनीहरूसँग प्रत्यक्ष छलफल हुन सकेन । त्यसपछि सञ्जालका प्रतिनिधिहरूले आगामी कदमबारे छलफल गरेका छन् ।

यसअघि सञ्जालले प्रादेशिक अस्पताल जनकपुरधाममा नवजात शिशुको मृत्यु, राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण सुत्केरी महिला अस्पतालबाहिरै सुत्केरी हुनुपरेको भनिएको घटना तथा जनकपुरधामस्थित मुस्कान अस्पतालमा शल्यक्रियापछि बिरामीको मृत्यु भएको भनिएको घटनालगायत विषयमा निष्पक्ष छानबिनको माग गरेको थियो ।

त्यस्तै, गरिब, विपन्न, असहाय, गर्भवती तथा सुत्केरीलाई आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुन नदिन प्रभावकारी व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्थामा लक्षित वर्गका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्या तथा उपचार सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग सञ्जालले अघि सारेको थियो ।

अस्पताल, क्लिनिक तथा नर्सिङ होमको नियमित र आकस्मिक अनुगमन, मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि कारबाही, चिकित्सकीय लापरवाही तथा गलत उपचारका घटनाको छानबिन, अनावश्यक परीक्षण र बढी शुल्क असुली नियन्त्रण तथा अस्पतालमा २४ घण्टे गुनासो सुनुवाइ र बिरामी सहायता डेस्क स्थापना गर्नुपर्ने मागसमेत सञ्जालको थियो ।

माग बुझ्दै त्यसबेला मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले उठाइएका विषयलाई गम्भीरतापूर्वक लिएको र माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको सञ्जालका प्रतिनिधि किसन साहले बताएका थिए ।

तर १५ दिनको समयसीमा पूरा हुँदासमेत माग सम्बोधनको ठोस प्रक्रिया अघि नबढेको सञ्जालको भनाइ छ ।

सञ्जालले अब आफ्नो आन्दोलनलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ । यसअघि नै माग पूरा नभए शान्तिपूर्ण जनदबाब, धर्ना, प्रदर्शन तथा हस्ताक्षर अभियानलगायत वैधानिक कार्यक्रम गर्ने चेतावनी दिइसकेको थियो ।

सञ्जालले स्वास्थ्यसम्बन्धी विषय केवल ज्ञापनपत्र बुझाउने विषय नभई नागरिकको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारलाई तत्काल गम्भीर बन्न आग्रह गरेको छ ।

सञ्जालले आगामी कार्यक्रमका लागि युवाहरूलाई एकजुट हुनसमेत अपिल गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान

  • २०८३ असोज १४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख

पूरा पढ्नुहोस्

Bureau Menus