न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको आगामी महाधिवेशनमा इन्जिनियर हरेन्द्र चौधरी र रामपुकार यादवले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
जनमत पार्टीको महाधिवेशन यही असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ । महाधिवेशनमा स्ट्रक्चरल इन्जिनियर चौधरीले राष्ट्रिय सचिव पदका लागि उम्मेदवारी दिएका छन् भने रामपुकार यादवले केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
इन्जिनियर चौधरीले पार्टीको संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउन आफ्नो प्राविधिक तथा संगठनात्मक अनुभव उपयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सचिव पदमा उम्मेदवारी दिएको बताएका छन् । उनले महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग सहयोग र समर्थनका लागि आग्रह गरेका छन् ।
त्यस्तै, रामपुकार यादवले केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । पार्टीको संगठन विस्तार तथा सुदृढीकरणमा भूमिका निर्वाह गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको यादवले बताएका छन् ।
वीरगञ्जमा हुने महाधिवेशनलाई जनमत पार्टीले नयाँ नेतृत्व चयन तथा आगामी राजनीतिक र संगठनात्मक दिशाबारे निर्णय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।
महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएसँगै पार्टीभित्र नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सचिवदेखि केन्द्रीय कार्यकारिणी सदस्यसम्मका पदमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ ।
चौधरी र यादवले महाधिवेशन प्रतिनिधिहरूसँग आफूहरूको उम्मेदवारीलाई सहयोग गर्न आग्रह गरेका छन् ।
- २०८३ असोज १ बिहीबार






