न्यूज ब्युरो, धादिङ । त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकालेको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको उनले बताएका छन् ।
बाढीले रसुवा र नुवाकोट क्षेत्रमा रहेका बैंकका शाखा कार्यालय तथा भल्टसमेत बगाएपछि तीमध्ये एउटा सेफ धादिङको गल्छी गाउँपालिका क्षेत्रमा पुगेको थियो । उक्त सेफ स्थानीय समूहले फोडेर त्यसमा रहेको रकम बाँडेको आरोप सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
धादिङका प्रहरी अधिकारीहरूका अनुसार घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । केही व्यक्तिलाई नियन्त्रणमा लिएर नगदसमेत बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले घटनासम्बन्धी विस्तृत विवरणसहित विज्ञप्ति जारी गर्ने तयारी गरेको बताइएको छ ।
यसअघि धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत गल्छी क्षेत्रमा बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम बाँडिएको दाबी गरेकी थिइन् । उनले एक वडाध्यक्षको नेतृत्वमा करिब ३५ जनाले सेफमा रहेको करिब १ करोड ८० लाख रुपैयाँ बाँडेको आरोप लगाउँदै घटनाको छानबिन गर्न माग गरेकी थिइन् ।
बाढीले रसुवा र नुवाकोटका बैंक तथा वित्तीय संस्थाका शाखामा ठूलो क्षति पुर्याएको थियो । शाखा कार्यालयहरू बगाउँदा नगद, कागजात, भल्ट तथा ग्राहकले धितो राखेका सुनचाँदीलगायतका सामग्रीसमेत बाढीमा बगेका थिए । त्यसैले फेला परेका सेफभित्र वास्तविक रूपमा कति रकम तथा अन्य सम्पत्ति थियो भन्ने विषय पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका २९ जनामाथि घटनाको थप अनुसन्धान भइरहेको छ भने सेफबाट रकम निकाल्ने अन्य व्यक्तिको खोजीसमेत जारी रहेको प्रहरीले जनाएको छ ।
- २०८३ भदौ १३ शनिबार





