सप्तरीमा एआई एक्सरे प्रविधिबाट क्षयरोग पहिचानसम्बन्धी एकदिने शिविर सम्पन्न
शिविरमा रुपनगर स्वास्थ्य चौकीका इन्चार्ज जदुनन्दन राउत, फोकल पर्सन रामेश्वर दास, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्षयरोग समितिका अध्यक्ष मो. इनुस, सचिव सन्तोष कुमार साहलगायत स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।

२०८३ साउन ३१ आइतबार, राति ९:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । कञ्चनरूप नगरपालिका–१२ स्थित रुपनगर स्वास्थ्य चौकीमा एआई एक्सरे प्रविधिमार्फत क्षयरोगसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
२०८३ साल साउन ३१ गते सञ्चालन गरिएको शिविरमा एआई एक्सरे प्रविधिको प्रयोग गरी क्षयरोगका सम्भावित तथा शंकास्पद बिरामीको प्रारम्भिक पहिचान गरिएको थियो । पहिचान भएका शंकास्पद बिरामीलाई थप एक्सरे तथा प्रयोगशाला परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको आयोजकले जनाएको छ ।
नेपाल सरकार, ग्लोबल फण्ड र यूएनडीपीबीचको त्रिपक्षीय साझेदारीअन्तर्गत बागमती सेवा समाज नेपालको आयोजनामा शिविर सञ्चालन गरिएको हो । संस्थाले यूएनडीपीसँगको त्रिपक्षीय सम्झौताअन्तर्गत समुदायस्तरमा क्षयरोग पहिचान, परीक्षण, उपचारका लागि सम्प्रेषण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

शिविरका क्रममा स्थानीय समुदायमा क्षयरोगका लक्षण, रोकथाम, परीक्षण तथा उपचारका विषयमा समेत जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो । एआई एक्सरे प्रविधिबाट क्षयरोगका सम्भावित बिरामीलाई प्रारम्भिक चरणमै पहिचान गरी समयमै थप परीक्षण तथा उपचारमा जोड्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
शिविरमा रुपनगर स्वास्थ्य चौकीका इन्चार्ज जदुनन्दन राउत, फोकल पर्सन रामेश्वर दास, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्षयरोग समितिका अध्यक्ष मो. इनुस, सचिव सन्तोष कुमार साहलगायत स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।
यसै क्रममा तिरहुत गाउँपालिका–४ स्थित डिमन स्वास्थ्य चौकीमा यसअघि गठन गरिएको टिबी क्लबलाई थप व्यवस्थित गर्दै १३ सदस्यीय समिति गठन गरिएको जनाइएको छ । समितिमा अध्यक्ष, सचिवलगायत सदस्य चयन गरिएको छ ।

टिबी क्लबमार्फत समुदायस्तरमा क्षयरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै सम्भावित बिरामीको पहिचान तथा उपचारका लागि आवश्यक समन्वयमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।
बागमती सेवा समाज नेपालका सप्तरी जिल्ला संयोजक दुर्गानन्द झाले सप्तरी जिल्लाका १८ वटै स्थानीय तहमा कार्यक्रम विस्तार गरिने जानकारी दिए ।
उनका अनुसार जिल्लाका प्रत्येक वडामा कम्तीमा एक स्वास्थ्य चौकीलाई लक्षित गरी एआई एक्सरे प्रविधिमार्फत क्षयरोग पहिचान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
झाले एआई एक्सरे प्रविधिको प्रयोगबाट क्षयरोगका सम्भावित बिरामीलाई प्रारम्भिक चरणमै पहिचान गर्न सहज हुने र त्यसपछि समयमै थप परीक्षण तथा उपचारमा सम्प्रेषण गर्न सकिने बताए ।
नेपाल सरकार, ग्लोबल फण्ड र यूएनडीपीको त्रिपक्षीय साझेदारीमा बागमती सेवा समाज नेपालले सप्तरीसहित समुदायस्तरमा क्षयरोग पहिचान, परीक्षण, उपचारमा सम्प्रेषण तथा रोगसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…