न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका–८, टेढामोडमा बाटो छेकेर आमा–छोरामाथि सामूहिक कुटपिट गरिएको आरोप लागेको छ ।
स्थानीय एक समूहले बाटो छेकेर सविता देवी ठाकुर र उनका छोरा विमलेश कुमार ठाकुरमाथि कुटपिट गरेको पीडित पक्षले जनाएको छ ।
पीडित पक्षका अनुसार बाटोमा समूह बनाएर बसेका व्यक्तिहरूले सविता देवी ठाकुरलाई रोकेर अभद्र व्यवहार गर्नुका साथै कपडासमेत च्यातिदिएको आरोप छ । यस्तै, उनका छोरा विमलेशलाई कान र पिठ्युँमा चोट लाग्ने गरी कुटपिट गरिएको बताइएको छ ।
घटनामा आमा–छोरा दुवै घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको पीडित पक्षले जनाएको छ ।
पीडित पक्षले घटनामा कमला नगरपालिका–८ का भोला धानुक मण्डल, ओपिन्द्र धानुक मण्डल, जगती धानुक मण्डल, वतहा साफी र भगती धानुक मण्डल संलग्न रहेको आरोप लगाएको छ ।
पीडित पक्षका अनुसार एक्कासि बाटो छेकेर आमा–छोरालाई घेरा हालिएको थियो । त्यसपछि उनीहरूमाथि कुटपिट गरिएको र महिलामाथि अभद्र व्यवहार गर्दै कपडा च्यातिएको आरोप लगाइएको छ ।
घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिने तयारी भइरहेको पीडित पक्षले जनाएको छ ।
बर्षाको पानी आफ्नो जमिनमा बगेको निहुँमा छोरालाई कुटपिट गरेको आरोप छ । यता, कुटपिट गर्ने पक्षका अनुसार बिमलेशले टिकटोकमा एक युवतिलाई रोष्ट गरेको प्रकरणमा कुटपिट गरिएको बताईएको छ ।
वडाध्यक्ष तृपित भुडेरका अनुसार, पीडित भनिएका सबिता र उनका छोरा बिमलेशलाई गाउँले पँचायतमा बोलाएकोमा उल्टै गालीगलौज गर्न थालेपछि हातपात भएको बताए । गाउँकै एक किशोरीको भिडियो खिचेको, टिकटोकमा हालेको घटनामा पँचायत बोलाउँदा गालीगलौज गरेपछि किशोरीको घर परिवारले हातपात गरेको बताएका छन् ।
पीडितले भने टिकटकमा रोष्ट गरिएको कुरा निहुँ मात्र भएको बताइन् । सबिता ठाकुरका अनुसार, टिकटोकमा कुनै भिडियो रोष्ट गरेको फेला नपरेपनि कुटपिट गरिएको बताइन् । उनले बर्षाको पानीकै कारण निहुँ खोजेर आफूहरुमाथि कुटपिट भएको सुनाइन् । उनीहरुको उपचार जनकपुरमा भईरहेको छ ।
यता, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक दिनेश बहादुर कुँवरका अनुसार बर्षाको पानीलाई लिएर झगडा भएको प्रारम्भिक जानकारी भएको बताए । उनले यसबारे थप अनुसन्धान भईरहेको बताएका छन् ।
- २०८३ श्रावण २६ मंगलबार








