अब सर्लाहीको लालबन्दीमै मुटुरोग (हर्ट) सम्बन्धी उपचार सेवा सुरु
नेपाल हृदय रोग प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुकाजी नुच्छे प्रधानले लामो समयदेखिको प्रयासपछि मुटुरोग विशेषज्ञलाई महिनामा एक दिन भए पनि नगर अस्पतालमा नियमित सेवा दिने व्यवस्था मिलाउन सफल भएको बताए ।

२०८३ साउन २४ आइतबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगर अस्पतालमा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरिएको छ । लालबन्दी नगरपालिका, नगर अस्पताल र नेपाल हृदय रोग प्रतिष्ठान सर्लाही शाखाको समन्वयमा शनिबारदेखि विशेषज्ञ सेवा सुरु गरिएको हो ।
नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार अब प्रत्येक महिनाको चौथो शनिबार मुटुरोग विशेषज्ञ डा. सुवास सुवेदीले अस्पतालबाट बिरामीलाई सेवा दिनेछन् ।
भरतपुर सरकारी अस्पतालमा कार्यरत डा. सुवेदी लालबन्दी नगरपालिका–७ डाँडाटोलका स्थानीय बासिन्दासमेत हुन् । स्थानीय मुटुरोगी उपचारका लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै डा. सुवेदीसँग समन्वय गरी महिनामा एक दिन नियमित रूपमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको नगरप्रमुख वासुदेव अधिकारीले बताए ।
नगर अस्पतालका अनुसार उच्च रक्तचाप, हृदयाघात तथा मुटुको धड्कनमा गडबडी लगायतका समस्या भएका बिरामीले विशेषज्ञ डा. सुवेदीबाट स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी परामर्श लिन सक्नेछन् ।
विशेषज्ञ सेवा लिन आउने बिरामीले ओपीडी शुल्कबापत एक सय रुपैयाँ तिर्नुपर्नेछ । आवश्यक परीक्षण गर्नुपर्ने भए नगर अस्पतालले निर्धारण गरेको शुल्कअनुसार रकम लाग्ने डा. चौधरीले बताए ।
नेपाल हृदय रोग प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुकाजी नुच्छे प्रधानले लामो समयदेखिको प्रयासपछि मुटुरोग विशेषज्ञलाई महिनामा एक दिन भए पनि नगर अस्पतालमा नियमित सेवा दिने व्यवस्था मिलाउन सफल भएको बताए ।
शनिबार बिहान नगरप्रमुख अधिकारीको मुटु परीक्षण गरी विशेषज्ञ सेवाको औपचारिक सुरुवात गरिएको थियो । सेवा सुरु भएकै पहिलो दिन ५० जनाभन्दा बढी बिरामीले डा. सुवेदीबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिएको नगर अस्पतालले जनाएको छ ।
महिनामा एक दिन विशेषज्ञ सेवा उपलब्ध भएपछि लालबन्दी तथा आसपासका क्षेत्रका मुटुरोगीलाई उपचार र परामर्शका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…