न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेशमा सीमा सुरक्षा निगरानी थप कडा बनाइएको छ । अवैध आवतजावत, सीमा अपराध तथा तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले ‘बोर्डर इन्टरयाक्शन टिम’ (बीआईटी) परिचालन गरेको हो ।
पाइलट परियोजनाका रूपमा साउन १० गतेदेखि सञ्चालनमा ल्याइएको बीआईटीअन्तर्गत महिला तथा पुरुष सुरक्षाकर्मी सादा पोशाकमा सीमा नाकामा बिहानदेखि साँझसम्म खटिनेछन् । उनीहरूले यात्रुलाई आवश्यक सहजीकरण गर्नुका साथै शंकास्पद गतिविधिमाथि निगरानी गर्नेछन् ।
बीआईटी हाल झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डन्डा, बाँकेको जमुनाहा र कैलालीको त्रिनगर गरी ६ प्रमुख नाकामा सञ्चालनमा छ । मधेश प्रदेशको प्रमुख व्यापारिक नाका वीरगञ्जमा विशेष निगरानी बढाइएको छ ।
सशस्त्र प्रहरीका अनुसार गत आर्थिक वर्षमा सीमा हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने २० जना तेस्रो देशका नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन विभागको जिम्मा लगाइएको थियो ।
सुरक्षा निकायले नेपाल प्रहरी, अध्यागमन विभाग तथा भारतीय सुरक्षा निकायसँगको समन्वयमा सीमा निगरानी, गस्ती, चेकपोइन्ट र सुराकी प्रणालीलाई थप प्रभावकारी बनाएको जनाएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक अबि नारायण काफ्लेले सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिको घुसपैठ रोक्न प्रहरी प्रमुख तथा कमान्डरहरूलाई विशेष निगरानीको निर्देशन दिइएको बताएका छन् ।
खुला सीमाको सहज आवतजावतलाई कायम राख्दै राष्ट्रिय सुरक्षा मजबुत बनाउने उद्देश्यले बीआईटी सञ्चालन गरिएको सशस्त्र प्रहरीको भनाइ छ ।
- २०८३ श्रावण १८ सोमबार


