अब वैदेशिक रोजगार ठगीको उजुरी विदेशबाटै अनलाइन गर्न सकिने, काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने
जिल्लाभित्रका सामान्य प्रकृतिका वैदेशिक रोजगार ठगीका घटनामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै मिलापत्रको प्रयास गरिनेछ । मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान भने वैदेशिक रोजगार विभागले नै गर्ने व्यवस्था रहनेछ ।

२०८३ साउन ६ बुधबार, बिहान ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी तथा अन्य गुनासोको उजुरी अब स्वदेश वा विदेशबाटै अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले उजुरी तथा मुद्दा व्यवस्थापनका लागि नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।
मङ्गलबारदेखि सञ्चालनमा आएको 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' https://ujuri.dofe.gov.np/ मार्फत वैदेशिक रोजगार ठगीमा परेका व्यक्तिले आवश्यक प्रमाणसहित अनलाइनबाटै उजुरी दर्ता गर्न सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार म्यानपावर कम्पनीले रकम लिएर विदेश नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जामा राखेको, करार सम्झौताअनुसारको काम, तलब वा अन्य सेवा–सुविधा उपलब्ध नगराएको लगायतका विषयमा पीडित वा उनका परिवारका सदस्यले समेत उजुरी दिन सक्नेछन् ।
नयाँ प्रणालीले उजुरी दर्तादेखि मुद्दा व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रियालाई डिजिटल बनाउने विभागको भनाइ छ । उजुरी दर्तापछि त्यसको अवस्थाबारे उजुरीकर्तालाई इमेल र एसएमएसमार्फत नियमित जानकारी दिइनेछ भने कारबाही प्रक्रियाको सम्पूर्ण अभिलेख पनि व्यवस्थित रूपमा सुरक्षित रहनेछ । यसबाट उजुरी व्यवस्थापनलाई छिटो, पारदर्शी, सरल तथा पीडितमैत्री बनाउने लक्ष्य राखिएको विभागले जनाएको छ ।
विभागका अनुसार प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि सामान्य प्रकृतिका वैदेशिक रोजगारसम्बन्धी उजुरीको सुनुवाइ तथा कारबाही प्रक्रिया सम्बन्धित ७७ वटै जिल्ला प्रशासन कार्यालयबाटै अघि बढाइनेछ । यससँगै उजुरी दर्ता वा सुनुवाइका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
जिल्लाभित्रका सामान्य प्रकृतिका वैदेशिक रोजगार ठगीका घटनामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै मिलापत्रको प्रयास गरिनेछ । मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान भने वैदेशिक रोजगार विभागले नै गर्ने व्यवस्था रहनेछ ।
विभागले नयाँ प्रणालीबाट वैदेशिक रोजगार ठगीका पीडितलाई छिटो न्याय दिलाउन, क्षतिपूर्ति उपलब्ध गराउन तथा अलपत्र परेका कामदारको उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…