न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका ३२८ परिवारले पुस्तौँदेखि भोगचलन गर्दै आएको गाउँब्लक जग्गाको अन्ततः कानुनी स्वामित्व प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाले आइतबार गणेशमान चारनाथ नगरपालिका–५, चिसापानीमा आयोजित एक कार्यक्रममार्फत साबिक तल्लो गोदार गाविसका वडा नं. १ देखि ९ तथा हालका वडा नं. ५ र ६ का ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरेको हो।
नापी कार्यालय धनुषाका प्रमुख उमेश साहले जग्गाको नापजाँच कार्य २०७० सालमै सम्पन्न भए पनि विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण लालपुर्जा वितरणमा ढिलाइ भएको जानकारी दिए। उनका अनुसार नापनक्सा प्रमाणीकरण, फिल्ड भेरिफिकेसन तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अहिले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गरिएको हो।
प्रमुख साहले लालपुर्जा प्राप्त भएसँगै लाभग्राही परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व पाएको उल्लेख गर्दै यसबाट बैंकिङ सेवा, ऋण, घर निर्माण तथा अन्य कानुनी कार्यमा सहजता आउने विश्वास व्यक्त गरे। उनले अभिलेख, नापजाँच वा प्राविधिक त्रुटिका कारण लालपुर्जा प्राप्त गर्न नसकेका नागरिकलाई आवश्यक कागजातसहित नापी कार्यालयमा सम्पर्क गर्न आग्रहसमेत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएको गाउँब्लक जग्गाको कानुनी स्वामित्व दिलाउन नगरपालिका निरन्तर सक्रिय रहेको बताए। वडा जनप्रतिनिधि, नापी कार्यालय तथा सम्बन्धित निकायबीचको समन्वयका कारण लामो समयदेखि रोकिएको लालपुर्जा वितरण प्रक्रिया सफल भएको उनको भनाइ थियो।
नगर प्रमुख यादवले नागरिकलाई जग्गाको कानुनी स्वामित्व उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै अझै लालपुर्जाबाट वञ्चित रहेका परिवारको समस्या पनि चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता जनाए।
लालपुर्जा प्राप्त गरेका स्थानीय सुरेश रायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको आधिकारिक स्वामित्व प्राप्त हुनु आफूहरूका लागि ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिए। लालपुर्जा प्राप्त भएपछि बैंकिङ कारोबार, ऋण सुविधा तथा अन्य कानुनी प्रयोजनका लागि सहज हुने उनको भनाइ थियो।
कार्यक्रममा गणेशमान चारनाथ नगरपालिका–५ का वडाध्यक्ष जयचन्द्र भट्टराई, वडा नं. ६ का वडाध्यक्षरञ्जितकुमार साह, नापी कार्यालय धनुषाको टोली नं. १ का प्रमुख रञ्जित यादव, नापी कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति रहेको थियो।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८३ असार २२ सोमबार


.png)