न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–७ स्थित श्री आधारभूत विद्यालय, नौवाखोर प्रसाही सडक निर्माण र कमजोर पानी निकास व्यवस्थापनका कारण जलमग्न बनेपछि गत सोमबारदेखि पूर्ण रूपमा बन्द भएको छ। विद्यालय परिसरमा वर्षाको पानी जमेर कक्षाकोठादेखि कार्यालय, शौचालय, दिवा खाजा बनाउने कोठा र कम्पाउन्डसम्म डुबानमा परेपछि नियमित पठनपाठन सञ्चालन गर्न नसकिएको हो।
विद्यालय प्रशासनका अनुसार लगातारको जलजमावका कारण शिक्षकहरू दैनिक विद्यालय पुग्ने गरे पनि पढाइ सञ्चालन गर्न नसक्ने अवस्था भएपछि फर्किन बाध्य भएका छन्। यसबाट विद्यालयमा अध्ययनरत सयौं विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ।
विद्यालयका प्रधानाध्यापक निर्गुन दासले सडक तथा अन्य संरचना निर्माण गर्दा उचित ढल र पानी निकासको व्यवस्था नगरिएकाले वर्षाको पानी विद्यालय परिसरमा थुप्रिएको बताए। उनका अनुसार विकास निर्माणका क्रममा विद्यालयजस्तो संवेदनशील क्षेत्रको संरक्षणमा ध्यान नदिँदा अहिले शिक्षा नै अवरुद्ध हुने अवस्था सिर्जना भएको छ।
स्थानीय अभिभावक तथा सरोकारवालाले विकास निर्माणका नाममा गरिएको लापरबाहीका कारण विद्यार्थीको शिक्षा प्रभावित हुनु गम्भीर विषय भएको बताएका छन्। उनीहरूले विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठनमा परेको क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका छन्।
यस घटनामा वडा कार्यालय, हंसपुर नगरपालिका, निर्माण व्यवसायी, सडक निर्माणसँग सम्बन्धित निकाय तथा अनुगमन गर्ने निकायको भूमिका र जिम्मेवारीबारे समेत प्रश्न उठेको छ। योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म विद्यालयमा पर्न सक्ने प्रभावको मूल्यांकन किन नगरियो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने स्थानीयको माग छ।
अभिभावकहरूले विद्यालयमा तत्काल पानी निकासको व्यवस्था गरी डुबान हटाउन, आवश्यक मर्मत गर्न तथा विद्यार्थीको पठनपाठन नरोकिने गरी वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
स्थानीयको भनाइमा, शिक्षा नै अवरुद्ध हुने गरी गरिएको विकासलाई विकास भन्न नसकिने भन्दै समयमै समस्या समाधान नभए यसको दीर्घकालीन असर विद्यार्थीको भविष्यसँगै समग्र समाजमा पर्ने चेतावनी दिएका छन्।
- २०८३ असार १३ शनिबार




