रास्वपा महाधिवेशनः प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने
यसैबीच, रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिको विषयलाई लिएर उत्पन्न विवादका कारण निर्धारित समयमै सम्पन्न हुनुपर्ने महाधिवेशन लम्बिएको बताइएको छ।

२०८३ असार ९ मंगलबार, बिहान ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आइतबार सूचना जारी गर्दै उम्मेदवारका प्रस्तावक तथा समर्थक उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको हो।
निर्वाचन आयोगले सभापति पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरेको छ। यस्तै अन्य केन्द्रीय पद तथा सदस्यका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी द्वारा जारी सूचनाअनुसार प्रस्तावक र समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
निर्वाचन आयोगले एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने जनाएको छ। तर समर्थकका रूपमा भने एकभन्दा बढी उम्मेदवारलाई समर्थन गर्न सकिने व्यवस्था राखिएको छ। प्रस्तावक तथा समर्थक दुवै व्यक्ति महाधिवेशन प्रतिनिधि भएकै हुनुपर्ने उल्लेख गरिएको छ।
निर्वाचन आयोगले निर्धारित नियमविपरीत उम्मेदवारी मनोनयन फाराम दर्ता गरिएमा त्यस्तो उम्मेदवारी स्वतः अमान्य हुने चेतावनीसमेत दिएको छ।
महाधिवेशनअन्तर्गत केन्द्रीय सभापति पदका लागि उम्मेदवारी दर्ता गर्दा ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ। यस्तै पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यसैबीच, रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिको विषयलाई लिएर उत्पन्न विवादका कारण निर्धारित समयमै सम्पन्न हुनुपर्ने महाधिवेशन लम्बिएको बताइएको छ।
पार्टी नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियासँगै प्रतिनिधि व्यवस्थापन र बन्दसत्र सञ्चालनको विषय अहिले महाधिवेशनको प्रमुख चुनौतीका रूपमा देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…