जनकपुरधाममा गुठीको अतिक्रमित भूमि खाली गराउने प्रयाससँगै बढ्यो त्रास र विवाद
जनकपुरधामस्थित बेला कुटी, जानकी मन्दिर, दशरथ मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, बिरख कुटी, कुवा मठ, हनुमानगढी मठ तथा लक्ष्मीनारायण मठलगायत २५ भन्दा बढी गुठीअन्तर्गतका धार्मिक संस्थासँग सम्बन्धित जग्गा विभिन्न रूपमा अतिक्रमणमा परेको दाबी हुँदै आएको छ।

२०८३ असार ९ मंगलबार, बिहान ८:१४ बजे३ मिनेट पढाइ
जनकपुरधाम, धनुषा। केन्द्रीय गुठी संस्थानले अतिक्रमणमा परेका गुठीका जग्गा खाली गराउन सार्वजनिक सूचना जारी गरेपछि जनकपुरधाम क्षेत्रमा पुनः गुठी सम्पत्ति संरक्षणको बहस चर्किएको छ। तर वर्षौंदेखि अतिक्रमणमा परेका मठमन्दिर, गुठी तथा ऐतिहासिक पोखरीसँग सम्बन्धित जग्गा खाली गराउने कार्य सहज नदेखिएको सरोकारवालाहरू बताउँछन्।
स्थानीय जानकारहरूका अनुसार २०३६ सालपछि भएका राजनीतिक परिवर्तनसँगै गुठीका जग्गामाथि अतिक्रमण बढ्दै गएको हो। मठमन्दिरका महन्त, गुठीका कर्मचारी, राजनीतिक संरक्षण तथा प्रशासनिक मिलेमतोका कारण धार्मिक सम्पत्तिको संरक्षणको विषय पटक–पटक उठे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको आरोप लाग्दै आएको छ।
संघीय सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूचीमा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकता दिएपछि जनकपुरधाममा गुठीका जग्गा फिर्ता गराउने विषय पुनः चर्चामा आएको हो। यद्यपि विगतका अनुभवका आधारमा स्थानीयवासी भने सरकारी प्रतिबद्धताप्रति अझै पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
यस विषयलाई राष्ट्रिय राजनीतिमा समेत उठाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा ले प्रतिनिधिसभामा पटक–पटक जनकपुरधामका मठमन्दिर तथा गुठी सम्पत्तिमाथि भइरहेको अतिक्रमणको विषय उठाउँदै आएका छन्। उनले गुठी सम्पत्तिको संरक्षण, अवैध बिक्री–वितरणको छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै आए पनि स्थानीय तहमा भने उल्लेखनीय प्रगति हुन नसकेको देखिन्छ।
जनकपुरधामस्थित बेला कुटी, जानकी मन्दिर, दशरथ मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, बिरख कुटी, कुवा मठ, हनुमानगढी मठ तथा लक्ष्मीनारायण मठलगायत २५ भन्दा बढी गुठीअन्तर्गतका धार्मिक संस्थासँग सम्बन्धित जग्गा विभिन्न रूपमा अतिक्रमणमा परेको दाबी हुँदै आएको छ।
कतिपय स्थानमा वार्षिक कुत तिर्ने मनखपको नाममा स्थायी संरचना निर्माण गरिएको छ भने केही स्थानमा प्रत्यक्ष खरिद–बिक्रीसमेत भएको आरोप लाग्दै आएको छ। धार्मिक सम्पत्तिको संरक्षणका लागि विद्यमान कानुनी व्यवस्थालाई बेवास्ता गर्दै वर्षौँदेखि यस्ता गतिविधि भइरहे पनि प्रभावकारी निगरानी र कारबाही नहुँदा अतिक्रमण झन् संस्थागत बन्दै गएको जानकारहरूको भनाइ छ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…