न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले ग्रामीण भेगका नागरिकलाई सहज तथा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड (USG) सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नगरपालिकाको पहलमा सुरु गरिएको उक्त सेवाबाट विशेष गरी गर्भवती महिला, सुत्केरी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
USG मेसिन CFWA र One Heart World Wide नामक संस्था सहयोग गरेको स्वास्थ शाखा प्रमुख राम कुमार ठाकुरले जनाए ।
यो कार्यक्रम मात्रै गर्भवती महिलाको लागि मात्रै रहेको छ ।
सेवा शुभारम्भ कार्यक्रममा नगर प्रमुख विशेश्वर यादव, विभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख रामकुमार ठाकुर, स्वास्थ्य शाखाका सह संयोजक अमरेश यादव, स्वास्थ्य चौकी प्रमुखहरू तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। नगर प्रमुख यादवले अल्ट्रासाउण्डको विधिवत उदघाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले ग्रामीण क्षेत्रका महिलाहरूलाई सामान्य अल्ट्रासाउण्ड परीक्षणका लागि जनकपुर वा अन्य शहरसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सेवा सञ्चालन गरिएको बताए। उनले मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप स्वास्थ्य सेवाहरू विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाका अनुसार अब गर्भवती महिलाले आफ्नै पालिकाभित्र नियमित गर्भ परीक्षण तथा अल्ट्रासाउण्ड सेवा प्राप्त गर्न सक्नेछन्। यसले गर्भावस्थामा देखिन सक्ने जटिलता समयमै पहिचान गर्न, जोखिमयुक्त गर्भावस्थाको व्यवस्थापन गर्न तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
स्वास्थ्य शाखा प्रमुख रामकुमार ठाकुरले ग्रामीण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलाको स्वास्थ्य अवस्थाको नियमित निगरानी गर्न सहज हुने, भ्रूणको विकास अवस्थाबारे समयमै जानकारी प्राप्त हुने तथा आवश्यक परे विशेषज्ञ उपचारका लागि छिटो रिफर गर्न मद्दत पुग्ने बताए।
स्थानीयवासीहरूले पनि नगरपालिकाको यो पहललाई स्वागत गरेका छन्। यसअघि सामान्य USG परीक्षणका लागि समेत लामो दूरी तय गर्नुपर्ने र आर्थिक भार व्यहोर्नुपर्ने अवस्था रहेकोमा अब गाउँमै सेवा उपलब्ध भएपछि समय, श्रम र खर्च तीनैको बचत हुने उनीहरूको भनाइ छ।
कमला नगरपालिकाले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने अभियानअन्तर्गत यो सेवा सुरु गरेको जनाएको छ। नगरपालिकाका अनुसार यस कार्यक्रमले मातृ मृत्युदर तथा शिशु मृत्युदर न्यूनीकरण, सुरक्षित गर्भावस्था सुनिश्चितता तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
- २०८३ असार ८ सोमबार


