रिँकु सदाय बलात्कारपछि हत्या प्रकरणमा पँचायत गर्ने पँचसहित १४ जनालाई कैद सजाय
घटनामा प्रत्यक्ष संलग्न तीन नाबालकलाई समेत अदालतले दोषी ठहर गरेको छ। साथै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन अदालतले दोषी ठहरिएका सबै प्रतिवादीबाट जनही ३५ हजार रुपैयाँका दरले रकम असुल गरी पीडित पक्षलाई उपलब्ध गराउन आदेश दिएको छ।

२०८३ बैशाख १९ शनिबार, बिहान ८:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु कुमारी सदायको सामूहिक बलात्कारपछि भएको मृत्यु प्रकरणमा सिरहा जिल्ला अदालतले जनप्रतिनिधिसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ।
मुद्दा दर्ता भएको करिब १३ महिनापछि जिल्ला अदालतका मुख्यन्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले फैसला सुनाएको हो। अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्याम यादवका अनुसार प्रत्यक्ष संलग्न, सहयोगी तथा घटना लुकाउन संलग्न सबैलाई फरक–फरक सजाय तोकिएको छ।
अदालतले घटना लुकाउन ‘पञ्चायती’ गर्ने नवराजपुर–१ का वडा सदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायलाई जनही आठ महिना कैद र सात हजार रुपैयाँ जरिवाना गरेको छ। जनप्रतिनिधिको हैसियतमा अपराधलाई प्रश्रय दिएको र कानुनी प्रक्रियामा अवरोध पुर्याएको ठहर गर्दै वडा सदस्य साहलाई थप ६ महिना कैद सजाय पनि सुनाइएको छ।
घटनामा प्रत्यक्ष संलग्न तीन नाबालकलाई समेत अदालतले दोषी ठहर गरेको छ। साथै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन अदालतले दोषी ठहरिएका सबै प्रतिवादीबाट जनही ३५ हजार रुपैयाँका दरले रकम असुल गरी पीडित पक्षलाई उपलब्ध गराउन आदेश दिएको छ।
२०७१ साल माघ २७ गते राति शौचका लागि घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन युवकले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका थिए। गम्भीर पीडासहित भोलिपल्ट बिहान करिब ३ बजे घर फर्केकी रिंकुले आमालाई घटनाबारे जानकारी गराएकी थिइन्। तर केही स्थानीय अगुवाहरूले घटना प्रहरीसम्म नपुग्ने गरी गाउँमै दबाउने प्रयास गरेका थिए।
घटनापछिको दिन वडा सदस्य नथुनी साहको रोहवरमा दुई पटक ‘पञ्चायती’ बसेको थियो। उक्त पञ्चायतीले आरोपितहरूबाट १ लाख ५१ हजार रुपैयाँ जरिवाना असुल गरी घटना मिलाउन खोजिएको थियो। तर रकम बाँडफाँटमा विवाद भएपछि घटना बाहिर आएको थियो।
घटनापछि निरन्तर दबाबमा परेकी रिंकु माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा शव भेटिएकाले सुरुदेखि नै उनको मृत्यु शंकास्पद मानिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…