राराब कलेजमा परीक्षार्थी र क्याम्पस प्रशासनबीच तनाव, परीक्षार्थीहरु दिएनन परीक्षा !
विद्यार्थीहरूले क्याम्पस प्रमुखमाथि नियुक्ति भएदेखि नै विद्यार्थीका समस्याहरूलाई बेवास्ता गर्ने, अपमानजनक व्यवहार गर्ने तथा जिम्मेवारीप्रति लापरवाही देखाउने आरोप पनि लगाएका छन्। परीक्षा जस्तो महत्वपूर्ण समयमा बदला लिने प्रवृत्ति देखिएको भन्दै उनीहरूले यसलाई दुःखद र आपत्तिजनक भनेका छन्।

२०८३ बैशाख ९ बुधबार, बेलुकी ७:४३ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब कलेज बिबिए ८औँ सेमेष्टरका परीक्षार्थीहरुले क्याम्पस प्रमुखविरुद्ध नाराबाजी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको राराब कलेजमा नीजि सेक्टरबाट सँचालनमा रहेको बिबिएको ८औँ सेमेष्टरका परीक्षार्थीहरुले बुधबार राराब कलेजको गेटमा कलेज प्रमुखविरुद्ध नारावाजी गरेका हुन् ।
परीक्षा मर्यादित बनाउने प्रक्रिया अन्तर्गत मूल गेटमा बडीसर्च, मोबाईल निषेधसहित गरिएकै सिट प्लान अनुसार बस्नुपर्नेमा कडाई गरेपछि केही विद्यार्थीहरुले परीक्षा अवरोध गरेको क्याम्पस प्रमुख बसन्त लाल कर्णले जानकारी दिए ।
उनका अनुसार, बिहान ११ बजेदेखि सुरु हुने परीक्षामा गेटमै कडाई गरेपछि २ ४ जना परीक्षार्थीहरुले आफूविरुद्ध नारावाजी गर्दै चोरी गर्न पाउनुपर्ने अडान लिएको बताए । सोही अडानको कारण उनीहरुको परीक्षा समेत हुन नपाएको बताए ।
राराब कलेजमा तनाव उत्पन्न गर्ने परीक्षार्थीहरुको अभिभवकलाई बोलाएर ढिलो भएपनि परीक्षामा बस्न र सोही अनुसार समय व्यवस्थापन गरिदिने आग्रह गरेपनि नबस्दा उनीहरुको परीक्षा गयल भएको कर्णले बताए । केहीलाई अभिभावकले सम्झाएपछि उनीहरुले परीक्षा दिन तयार भएपनि केहीका अभिभावक नै सपोर्ट गरेपछि उनीहरुको परीक्षा छुटेको बताईएको छ ।
साँझ ५ बजेसम्म अभिभावक र विद्यार्थीलाई बोलाएर परीक्षामा बस्न विभिन्न तवरले आग्रह गरेपनि उनीहरु परीक्षा दिन तयार नभएको बताईएको छ । पछि केही विद्यार्थीहरु परीक्षा दिएर बाहिर निस्केपछि प्रश्नपत्र आउट भएपछि परीक्षा दिन नहुने स्थिति सृजना भएपछि बन्द गरिएको बताइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…